लमजुङ, माघ ३ गते ।
बेसीशहर नगरपालिकाले स्वीकृत दरबन्दीभित्र कार्यरत ९४ जना करार कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराएको छ । नगरपालिकाले चालु आर्थिक वर्षको साउन महिनादेखि लागू हुने गरी करार सेवामा रहेका ती कर्मचारीलाई हालै सामाजिक सुरक्षा कोषमा सहभागी गराएको हो ।
करार सेवामा लामो समयसम्म काम गरेपछि सेवा अवधि समाप्त हुँदा कर्मचारीहरू रित्तो हात घर फर्किनुपर्ने अवस्था अन्त्य गर्ने उद्देश्यले सामाजिक सुरक्षा कोषमा आवद्ध गराइएको नगरप्रमुख गुमानसिंह अर्यालले बताउनुभयो । उहाँका अनुसार स्वीकृत दरबन्दीभित्र रही करारमा सेवा गरिरहेका कर्मचारीको भविष्य सुरक्षित गर्न नगरपालिकाले यो महत्त्वपूर्ण निर्णय गरेको हो ।
नगरपालिकाले कर्मचारीको तलबको ६० प्रतिशत रकमलाई सतप्रतिशत मानी सो रकमको कर्मचारीतर्फबाट ११ प्रतिशत र नगरपालिकातर्फबाट २० प्रतिशत योगदान थप गरी सामाजिक सुरक्षा कोषमा दाखिला गरेको छ । यस व्यवस्थाले करार कर्मचारीलाई निवृत्तिभरण, औषधोपचार, दुर्घटना तथा पारिवारिक सुरक्षा जस्ता सुविधा प्राप्त हुने छ ।
बेसीशहर नगरपालिकाले ९४ जना करार कर्मचारीका लागि साउनदेखि पुस महिनासम्मको योगदानस्वरूप कुल २९ लाख चार सय १३ रुपियाँ सामाजिक सुरक्षा कोषमा जम्मा गरिसकेको जनाएको छ । नगरपालिकामा कार्यरत कर्मचारीहरूको मनोबल उच्च राख्ने, सेवामा स्थायित्वको अनुभूति गराउने तथा सेवा अवधि समाप्त भएपछि आर्थिक सुरक्षाको सुनिश्चितता गर्ने उद्देश्यले सामाजिक सुरक्षा कोषमा आवद्ध गरिएको प्रमुख प्रशासकीय अधिकृत सुमन अधिकारीले बताउनुभयो । उहाँले यस कदमले कर्मचारीको कार्यक्षमता र सेवाप्रतिको प्रतिबद्धता अझ सुदृढ हुने विश्वास व्यक्त गर्नुभयो ।
नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गत वैशाख १ गते प्रकाशित सूचनामा योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ र नियमावली, २०७५ बमोजिम सरकारी कोषबाट पारिश्रमिक लिने (निवृत्तभरण नपाउने) सबै व्यक्तिलाई सामाजिक सुरक्षा कोषमा सूचीकृत गर्न गराउन निर्णय गरेको थियो ।