नेपालगन्ज, पुस २३ गते ।
बाँकेको जानकी गाउँपालिकाले विद्यार्थीहरूलाई लक्षित गरी साइबर अपराध र सुरक्षासम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ ।
गाउँपालिकाको आयोजनामा सुरु भएको सो कार्यक्रममा जानकी गाउँपालिका भित्रका ८ वटा माध्यमिक विद्यालयमा अध्ययनरत करिब ४० जना विद्यार्थी तथा शिक्षकहरूको सहभागिता रहेको छ ।
दुई दिनसम्म सञ्चालन हुने तालिममा अनलाइनमार्फत हुने ठगीका विभिन्न स्वरूप, सामाजिक सञ्जालको दुरुपयोग, साइबर अपराधका कारण र त्यसबाट जोगिने व्यवहारिक उपायबारे विस्तृत जानकारी दिइने गाउँपालिका अध्यक्ष छब्बन खाँले बताउनुभयो ।
उहाँले प्रविधिको सही प्रयोग आजको आवश्यकता भएको उल्लेख गर्दै विद्यार्थीहरू डिजिटल संसारका सक्रिय प्रयोगकर्ता भएकाले उनीहरू नै सचेत बने समाज सुरक्षित बन्न सक्ने धारणा राख्नुभयो ।
गाउँपालिकाका उपाध्यक्ष रामप्यारी यादवले जानकी गाउँपालिकाको समृद्धि र सुशासनमा विद्यार्थीको भूमिका अत्यन्त महत्त्वपूर्ण हुने बताउँदै प्रविधिको सही उपयोगले मात्रै समाजलाई सकारात्मक दिशामा अघि बढाउन सकिने जनाउनुभयो ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक पातलीले जिल्लामा बढ्दो साइबर अपराधको अवस्थाबारे तथ्याङ्कसहित जानकारी गराउनुभयो ।
उहाँका अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्म सामाजिक सञ्जालमार्फत चरित्र हत्या गरेको एक जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ । करिब ५०० जति उजुरी आए पनि धेरैजसो मुद्दा छलफल र समझदारीमार्फत टुङ्ग्याइएको उहाँले बताउनुभयो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्यायले साइबर प्रविधिलाई नकारात्मक रूपमा मात्रै नहेर्न आग्रह गर्दै यसको सकारात्मक प्रयोगमा जोड दिनुभयो । उहाँले प्रविधि ज्ञानसँगै कानुनी सचेतना पनि आवश्यक रहेको उल्लेख गर्नुभयो ।
गाउँपालिकाका सामाजिक विकास संयोजक रामअचल धोबीले सामाजिक सञ्जाल प्रयोग गर्दा अपनाउनुपर्ने सावधानीबारे विद्यार्थीलाई सचेत गराउनुभयो । अपरिचित व्यक्तिसँग अनलाइन संवाद नगर्न, व्यक्तिगत विवरण सुरक्षित राख्न र आर्थिक प्रलोभनमा नपर्न उहाँले विशेष आग्रह गर्नुभयो ।
तालिममा प्रहरी निरीक्षक रमेश बिष्टले सहजीकरण तथा प्रशिक्षण प्रदान गरिरहनुभएको छ । उहाँले साइबर अपराध र बालविवाहबिचको सम्बन्ध, यसले पार्ने सामाजिक तथा मानसिक नकारात्मक प्रभाव, न्यूनीकरणका उपाय र विद्यमान कानुनी व्यवस्थाबारे जानकारी दिनुभयो ।
कार्यक्रममा सहभागी विद्यार्थी कल्पना बर्माले तालिमबाट सामाजिक सञ्जाल सुरक्षित रूपमा प्रयोग गर्ने तरिका सिक्न पाएको बताउनुभयो । अर्का विद्यार्थी शिवानी जैसवालले अनलाइन ठगीका विभिन्न तरिका र त्यसबाट जोगिने उपायबारे थाहा पाउँदा आफू अझ सतर्क भएको प्रतिक्रिया दिनुभयो ।
दुई दिनसम्म सञ्चालन हुने सो तालिममा गाउँपालिकाका सूचना प्रविधि अधिकृत विकास जिसी, प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्याय, आइटी विज्ञ अंकित श्रीवास्तव लगायतले सहजीकरण गर्ने गाउँपालिकाले जनाएको छ ।