मुक्तिनाथ (मुस्ताङ), पुस २१ गते ।
उपल्लो मुस्ताङको भ्रमणमा फ्रान्सबाट आएका पर्यटक अधिक पुग्ने गरेको पाइएको छ । अन्नपूर्ण संरक्षण आयोजना इलाका कार्यालय ल्होमन्थाङका अनुसार सन् २०२४ र २०२५ मा उपल्लो मुस्ताङ घुम्न जाने पर्यटकमा युरोपेली मुलुक फ्रान्सका पर्यटक अधिक रहेको पाइएको हो ।
कार्यालयको तथ्याङ्क अनुसार सो कार्यालय अन्तर्गत पर्ने वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३, छुसाङ, उपल्लो मुस्ताङमा पर्ने ल्होमन्थाङ, लोघेकर दामोदरकुण्ड गाउँपालिका विभिन्न पर्यटकीय स्थलमा अघिल्लो वर्ष भ्रमण गरेकामा सबैभन्दा धेरै युरोपेली देश फ्रान्सका ३६५ जना छन् । सन् २०२४ मा पनि फ्रान्सबाट ४३६ जनाले भ्रमण गरेका थिए ।
उपल्लो मुस्ताङ भ्रमण गर्ने पर्यटक भने गत वर्षभन्दा केही घटेका छन् । यस वर्ष अक्टोबरमा उपल्लो क्षेत्रको भ्रमण गर्ने तयारीमा रहेका विदेशी पर्यटक जेनजी आन्दोलनका कारण बुकिङ रद्द गरेकाले पर्यटकको आगमनमा कमी आएको हो । सन् २०२४ मा चार हजार ९३ जनाले भ्रमण गरेकामा सन् २०२५ मा तीन हजार ८७२ जनाले भ्रमण गरेको कार्यालय प्रमुख उमेश पौडेलले बताउनुभयो । “उपल्लो मुस्ताङ क्षेत्रमा आउने पर्यटक नाकासम्म पुग्छन्, धेरै जसो दरबार, गुफा गुम्बामा रमाउँछन्, माथिल्लो क्षेत्रमा असोज र वैशाखमा धेरै पर्यटक आउँछन्,” पौडेलले भन्नुभयो ।
असोज, कात्तिक महिनामा घुमफिर तथा वैशाख महिनामा उपल्लो मुस्ताङमा तिजीपर्वको अवलोकनसहित असोज महिनामा भ्रमणसहितको योजना बनाएर विदेशी पर्यटक उपल्लो मुस्ताङ जाने गरेका छन् । अर्धनिषेधित क्षेत्रमा आउने सार्क राष्ट्र«का पर्यटकले प्रवेश शुल्क एक हजार र अन्य राष्ट्र«का पर्यटकले तीन हजार रुपियाँ अन्नपूर्ण संरक्षण क्षेत्र समिति (एक्याप) लाई तिर्नु पर्छ । विदेशी पर्यटकले अध्यागमन विभागबाट जति दिन घुमेको सोही अवसरमा प्रतिदिन एक सय डलर शुल्क तिर्नु पर्छ । १० दिनभन्दा बढी भ्रमण गर्न प्रतिदिन ५० डलर शुल्क तिर्नुपर्ने नियम छ ।
उपल्लो मुस्ताङको भ्रमणमा जाने विदेशी पर्यटक कोरला नाका क्षेत्रमा भन्दा पनि प्राचीन मानव बस्ती भएका गुफा, गुम्बा, ल्होमन्थाङ दरबार, प्राचीन शैलीका माटोको बस्ती, मौलिक रहनसहन, संस्कृति, जीवनशैलीमा समय बिताउने गरेका छन् । नेपाल सरकारले सन् १९९२ मा उपल्लो मुस्ताङमा पर्यटकलाई भ्रमणका लागि खुला गरेको थियो ।

