काठमाडौँ, पुस १० गते ।
सामाजिक सुरक्षा कोषमा आबद्ध हुन चाहनेको सङ्ख्या बढ्दो छ तर सबैले चाहे अनुसार कोषमा आबद्धता हुन सकेको छैन । त्यस्तै समस्याको जानकारी श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले रोचक तरिकाले सुनाउनुभयो ।
उहाँले सामाजिक सुरक्षासम्बन्धी कार्यक्रममा आउँदै गर्दा आफ्नै चालकले सोधेको प्रश्नको उत्तर दिन नसकेर लज्जित हुनु परेको कुरा सुनाउनुभयो । उहाँले भन्नुभयो, “यस कार्यक्रममा आउँदै गर्दा मेरा सवारीचालक इन्द्र गुरुङले हामीलाई सामाजिक सुरक्षा कार्यक्रममा कहिलेदेखि समावेश गर्नुहुन्छ मन्त्रीज्यू ? हाम्रो फाइल कहाँ पुगेको छ ? छिटो गरिदिनु प¥यो भनेपछि म झस्याङ्ङ भएँ, मैले आफ्नो चालकलाई तत्काल उत्तर दिन सकिन, लज्जित हुनु प¥यो ।” उहाँ सामाजिक सुरक्षा कोषले अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) सँगको समन्वयमा बुधबार राजधानीमा आयोजित ‘अनौपचारिक र स्वरोजगार श्रमिकको सामाजिक सुरक्षा राष्ट्रिय अभियानको शुभारम्भ’ गर्दै हुनुहुन्थ्यो । उहाँले आफ्ना चालक जस्ता धेरैको प्रश्नको समाधान जसरी पनि गर्नु पर्छ भन्ने लागेको बताउनुभयो ।
मन्त्री भण्डारीले अस्थायी, ज्यालादारी तथा करारका कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन सकेसम्म पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
मन्त्री भण्डारीले अनौपचारिक र स्वरोजगार श्रमिकको सामाजिक सुरक्षाको अभियानलाई परिणाम आउने गरी काम के कसरी सकिन्छ गर्न आफू तयार रहेको बताउनुभयो । साथै उहाँले एकले अर्कोलाई समस्याको चाङ देखाउनुभन्दा यसको समाधान यहाँ छ र यसरी गर्न सकिन्छ भन्ने विकल्पसहित स्पष्ट आउन सबै सरोकारवालालाई आग्रह गर्नुभयो । अनौपचारिक र स्वरोजगार क्षेत्रका श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषको योजनामा जोड्नका लागि सरकारबाट सहयोगदान कसरी गर्न सकिन्छ भन्ने विषयमा काम गर्ने प्रतिबद्धता उहाँको थियो ।
श्रम सचिव डा. कृष्णहरि पुष्करले स्वरोजगार र अनौपचारिक क्षेत्रका श्रमिकलाई कोषको योजनामा जोड्न थोरै ऐनमा भएको अप्ठ्यारोलाई सहज गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो । सामाजिक सुरक्षा कोषको योजनामा जोडिनु भनेको गरिब र धनीबिच रहेको खाडलको अन्त्य गर्नु पनि भएकाले औपचारिक, अनौपचारिक र स्वरोजगार, वैदेशिक रोजगारी सबै क्षेत्रका व्यक्तिलाई जोडिन आग्रह गर्नुभयो ।
उहाँले नेपालको रोजगारीको झन्डै ८० प्रतिशत हिस्सा ओगटेको निजी क्षेत्रले पनि आफ्ना उद्योग प्रतिष्ठानमा काम गर्ने श्रमिकलाई कोषको योजनामा जोड्ने कार्यलाई बोझको रूपमा नलिइदिन आग्रह गर्नुभयो ।
अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) नेपाल प्रमुख नुमान अज्कानले सामाजिक सुरक्षामा श्रमिक आबद्ध हुनु भनेको आफ्नो र परिवारको भविष्यलाई सुरक्षित गर्नु रहेको बताउनुभयो । उहाँले नेपालमा योगदानमा आधारित सामाजिक सुरक्षा योजना छोटो अवधिमा प्रभावकारी कार्यान्वयन भएको बताउनुभयो ।
सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले अनौपचारिक र स्वरोजगार क्षेत्रका श्रमिकलाई कोषको योजनामा जोड्न स्थानीय सरकारसँग मिलेर काम गर्ने जानकारी दिनुभयो । कोषले अनौपचारिक र स्वरोजगार क्षेत्रका श्रमिकलाई दुई वर्षदेखि कोषको योजनामा जोड्न थालेको कोषले बुधबारदेखि राष्ट्रिय अभियान सञ्चालन गर्न लागेको जनाएको छ । उहाँका अनुसार कोषको योजनामा हालसम्म २७ लाख दुई हजार २७७ जना जोडिएकोमा अनौपचारिक र स्वरोजगारका गरेर पछिल्लो वर्षको अवधिमा एक हजार ४८२ जना आबद्ध भएका छन् ।

