काठमाडौँ, कात्तिक २४ गते ।
रुविभ्याली पदयात्रा मार्गको प्रवर्धन गर्ने उद्देश्यले निर्माण गरिएको म्यूजिक भिडियो घुमौं रुविभ्याली सार्वजनिक गरिएको छ । पर्वतीय क्षेत्रका मानिसलाई सहयोग गर्ने उद्देश्यले स्थापित हिमालयन कम्युनिटी प्रोजेक्ट (ट्रस्ट) ले यो गीत निर्माण गरेको हो ।
ट्रस्टको औपचारिक घोषणासँगै पहिलो प्रोजेक्टको रुपमा घुमौं रुविभ्याली म्यूजिक भिडियो निर्माण गरिएको ट्रस्टका अध्यक्ष रामप्रसाद सापकोटाले बताउनुभयो । अध्यक्ष सापकोटाको रचना, परिकल्पना र निर्माणमा बनेको म्यूजिक भिडियोले रुविभ्यालीको सुन्दर दृष्यलाई कथानक शैलीमा प्रस्तुत गरेको छ । धादिङ स्थाइ घर भएका सापकोटा पर्यटन व्यवसायी हुनुहुन्छ ।
रुविभ्याली ट्रेक काठमाडौंबाट नजिकै रहेको धादिङ जिल्लाको उत्तरी भूभाग समेट्ने पदमार्गको लागि लोकप्रिय छ । गणेश हिमालको शिरदेखि नरसिंहधामको पाउसम्मका बहुआयामिक दृष्यहरुलाई समेटी म्यूजिक भिडियोमार्फत देखाउँदा यसले पर्यटन प्रवर्धनमा सहयोग गर्ने निर्माता सापकोटाले बताउनुभयो ।
म्यूजिक भिडियोको लोकार्पण गर्दै साहित्यकार नवराज लम्सालले यो गीतले सिङ्गो रुविभ्यालीको चित्रण गरेको बताउनुभयो । आफू धादिङवासी भए पनि यो गीत हेर्दा रुविभ्याली क्षेत्रको बारेमा अझै धेरै जानकारी प्राप्त भएको उहाँले बताउनुभयो । वास्तविक धादिङ त छायाँमा परेको रहेछ भन्दै लम्सालले धादिङको बहुआयामिक विशेषतालाई प्रचार–प्रसार गर्न सबैलाई आग्रह गर्नुभयो ।
विवेक सापकोटाले निर्देशन गरेको म्यूजिक भिडियोलाई अल थ्री मिडिया घरले उत्पादन गरेको हो । यसमा सुधिर श्रेष्ठ र सगुन थापाको अभिनय रहेको छ ।
