सर्लाही, कात्तिक २३ गते ।
सर्लाहीको दक्षिण–पश्चिम भेगमा पर्ने बरहथवा नगरपालिकालाई वारुण यन्त्र प्राप्त भएको छ । जापान सरकारले भोलेन्टियर कोप्र्स नेपाल नामक संस्थामार्फत बरहथवा नगरपालिकालाई एउटा दमकल प्रदान गरेको हो ।
उक्त संस्थाका ग्लोबल गुडवील एम्बेस्डर एवम् बरहथव नगरपालिका १० कै स्थानीय सरोज रायको पहलमा प्राप्त भएको वारुण यन्त्र शनिबार बरहथवा नगरपालिका कार्यालयलाई हस्तान्तरण गरिएको छ ।
पूर्व रक्षामन्त्री एवम् सर्लाही क्षेत्र नं. ३ का निर्वतमान प्रतिनिधि सभा सदस्य हरिप्रसाद उप्रेतीको प्रमुख आतिथ्यतामा उक्त वारुण यन्त्र नगरपालिका कार्यालयलाई हस्तान्तरण गरिएको हो । जेनजी आन्दोलनमा नगरपालिका कार्यालयमा आगजनीबाट व्यापक क्षति पुगेकाले उक्त वारुण यन्त्र नगरपालिकाले तत्काल सञ्चालन गर्न सक्ने अवस्था भने छैन ।
बरहथवा नगरपालिकाकी प्रमुख कल्पनाकुमारी कटुवालले वारुण यन्त्र सञ्चालनका लागि मापदण्ड बनाउने तथा अन्य तयारीका काम अब अघि बढाउने बताउनुभयो । “वारुण यन्त्र प्राप्त त भयो तर तत्काल सञ्चालन गर्न सक्ने अवस्था छैन,” नगरप्रमुख कटुवालले भन्नुभयो, “यसका लागि आवश्यक मापदण्ड बनाउनेलगायत काम गर्न बाँकी नै छ ।”
सामाजिक अभियन्ता समेत रहनुभएको रायको पहलमा अर्को वारुण यन्त्र पनि प्राप्त भएको छ । उक्त वारुण यन्त्र भने चक्रघट्टा गाउँपालिकालाई प्रदान गर्ने तयारी रहेको रायले बताउनुभयो ।
बरहथवा र चक्रघट्टालाई उपलब्ध वारुण यन्त्र सञ्चालनमा ल्याउन सके सर्लाहीको पश्चिमी र दक्षिणी भेगमा आगलागीका घटना हुँदा नियन्त्रणमा सहजता हुने भएको छ । जिल्लामा अहिले मलङ्गवा नगरपालिका र नेपाली सेनाको पाँचकुमारीस्थित कालिध्वज गणमा गरेर दुईवटा वारुण यन्त्र रहेका छन् ।
पूर्वपश्चिम राजमार्गस्थित हरिवन नगरपालिका कार्यालयसँग रहेको वारुण यन्त्र भने जेनजी आन्दोलनमा आगजनी भएर क्षति पुग्दा सञ्चालन नै हुन नसक्ने अवस्थामा थन्किएको छ ।
