काठमाडौं, कात्तिक १७ गते ।
कागेश्वरी मनोहरा नगरपालिकाका नगरप्रमुख उपेन्द्र कार्की संयुक्त शहर तथा स्थानीय सरकार एशिया–प्रशान्त (UCLG ASPAC) को २०२५–२०२७ कार्यकालका लागि परिषद् सदस्यमा निर्वाचित हुनुभएको छ।
दक्षिण कोरियाको गोयाङ सहरमा सम्पन्न १०औँ UCLG ASPAC कांग्रेसमा सम्पन्न निर्वाचनमार्फत कार्कीले दक्षिण र दक्षिण–पश्चिम एसियाका सदस्यहरूको उच्च समर्थन प्राप्त गर्नुभएको हो।
यस सफलताले कागेश्वरी मनोहराको नेतृत्वमाथि अन्तर्राष्ट्रिय समुदायले देखाएको विश्वास र भरोसालाई झल्काएको छ।
उक्त पदमार्फत नगरप्रमुख कार्कीले अब एशिया–प्रशान्त क्षेत्रका स्थानीय सरकारहरूको हित, नीति निर्माण तथा दिगो विकासका कार्यक्रमहरूमा प्रत्यक्ष प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नुभएको छ।
नगरपालिकाले एक विज्ञप्ति जारी गर्दै नगरप्रमुख कार्कीको यो सफलता कागेश्वरी मनोहराका सम्पूर्ण नगरवासी र कर्मचारी परिवारका लागि गौरवको विषय भएको उल्लेख गर्दै उहाँलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ।
नगरप्रमुख कार्कीको अनुभव, नेतृत्व क्षमता र दूरदृष्टिले UCLG ASPAC को कार्यसम्पादन र एशिया–प्रशान्त क्षेत्रको दिगो विकासमा उल्लेखनीय योगदान पुग्ने विश्वास नगरवासीहरूले व्यक्त गरेका छन्।

