तानसेन, कात्तिक १७ गते ।
पाल्पाका दुई पालिकालाई अग्नि नियन्त्रण गर्ने (वारुण यन्त्र) प्रदान गरिएको छ । मित्रराष्ट्र जापान सरकारको सहयोगमा पाल्पाको तानसेन नगरपालिका र रैनादेवी छहरा गाउँपालिकालाई अत्याधुनिक वारुणयन्त्र (दमकल) प्रदान गरिएको हो ।
जिल्लाको विपद् व्यवस्थापन क्षमतालाई सुदृढ पार्न अत्याधुनिक दमकल उपलब्ध गराइएको सहयोगी दाताका अधिकारीहरुको भनाइ छ । यसअघि पाल्पामा तानसेन नगरपालिका र रामपुर नगरपालिकामा गरी दुई वटा मात्र दमकल थियो । त्यसले आगलागीजस्ता घटना नियन्त्रण गर्न समस्या सिर्जना भएको थियो ।
थप दुईवटा वारुणयन्त्र भएपछि जिल्लाका अन्य स्थानमा पनि आगलागीका घटना हुँदा समयमै नियन्त्रण गर्न सहज हुने अपेक्षा गरिएको छ । पालिकालाई दमकल सहयोग आएपछि पाल्पाको पश्चिम क्षेत्रमा हुने आगलागीका घटना समयमै नियन्त्रण गर्न सहज हुने रैनादेवी छहरा गाउँपालिकाका अध्यक्ष रुक्मांगत भट्टराईले विश्वास व्यक्त गर्नुभयो ।
उहाँले रैनादेवी छहरा, रिव्दीकोट र तिनाउ गाउँपालिकालाई समेत सेवा क्षेत्र बनाएर काम गर्ने उल्लेख गर्नुभयो । यसअघि आगलागी हुँदा तानसेनको वारुणयन्त्र ३१ किमी पश्चिमबाट मगाउनुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो । उहाँले दमकलको उचित सञ्चालन र मर्मतसम्भारका लागि विशेष कार्ययोजना बनाएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
तानसेन नगरपालिकाले पनि दुईवटा दमकल भएपछि अग्नि नियन्त्रणमा सहजता आउने विश्वास लिएको छ । यसअघि एउटा दमकल हुँदा अन्य पालिकामा पनि पठाउँदा तानसेनमा आगलागी हुँदा समस्या हुनेगरेको नगरपालिकाका सूचना अधिकारी भरतप्रसाद आचार्यले बताउनुभयो ।
