alliance khabar

शुक्रबार, कार्तिक १४, २०८२

काठमाडौँ, कात्तिक १४ गते ।

जेनजी आन्दोलनका क्रममा ज्यान गुमाउने ४९ जना मृतकका परिवारलाई सरकारले आर्थिक सहयोग उपलब्ध गराएको छ । गत भदौ २३ र २४ गते भएको आन्दोलनमा तीन जना प्रहरीसहित ७६ जनाको मृत्यु भएको थियो । प्रदर्शनकारीतर्फ ५३ जना नेपाली नागरिक, एक जना भारतीय नागरिक, १० जना कैदीबन्दीको मृत्यु भएको थियो । मृतकमध्ये १२ जनाको अझैसम्म पहिचान खुलेको छैन ।

जेनजी आन्दोलनपछि गठित प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारको गत भदौ ३० गते बसेको मन्त्रीपरिषद् बैठकले प्रदर्शनका क्रममा मृत्यु भएका कैदीबन्दीबाहेकका नेपाली नागरिकका परिवारलाई १० लाख रुपियाँ आर्थिक सहयोग र थप पाँच लाख रुपियाँ काजकिरिया तथा खाना खर्चबापत गरी जम्मा १५ लाख रुपियाँ उपलब्ध गराउने निर्णय गरेको थियो ।

गृह मन्त्रालयले मृतकको पहिचान गरी तीन जना प्रहरीसहित ५३ जना मृतक परिवारलाई आर्थिक सहयोग उपलब्ध गराउने क्रममा हालसम्म ४९ जनाको परिवारलाई आर्थिक सहयोग रकम उपलब्ध गराइएको जनाएको छ ।

गृह मन्त्रालयका प्रवक्ता सहसचिव आनन्द काफ्लेका अनुसार मृतकका परिवारलाई सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत आर्थिक रकम उपलब्ध गराइएको छ । केही हकवालाका बारेमा आवश्यक प्रक्रिया पुगेपछि रकम उपलब्ध गराइने छ ।

यसै गरी घाइते प्रदर्शनकारीको उपचार व्यवस्था मिलाउन मन्त्रालय र घाइते प्रतिनिधिसहितको कार्यदल गठन गरी आवश्यक सहजीकरण भइरहेको प्रवक्ता काफ्लेले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “घाइते प्रदर्शनकारीको सम्पूर्ण उपचार निःशुल्क गर्ने निर्णय अनुसार उपचार, आवतजावत (एम्बुलेन्स सेवा), अस्पताल बसाइलगायत आवश्यक सबै विषयमा समन्वय र सहजीकरण गरिरहेका छौँ ।”

मन्त्रालयले आन्दोलनमा ज्यान गुमाएका प्रदर्शनकारीलाई सहिद घोषणा गर्ने निर्णय गरिसकेको छ । त्यसका लागि नेपाल प्रहरी र सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत यकिन विवरण सङ्कलन भइरहेको पनि जनाएको छ ।

मन्त्रालयले पहिचान खुलेका तर प्रक्रिया पुग्न बाँकी अन्य चार जनाको परिवारलाई पनि रकम उपलब्ध गराउने प्रक्रिया चलिरहेको जनाएको छ । जसमा सुनसरीका साजन राईको आर्थिक सहयोग कसले बुझ्ने भन्ने विवाद र नुवाकोटका लच्छुमन राईकी श्रीमतीले दोस्रो विवाह गरेकाले उहाँका छोरालाई रकम उपलब्ध गराउनेबारे प्रक्रिया अघि बढाइएको पनि मन्त्रालयले जनाएको छ ।

यसै गरी गोरखाका सरोज गुरुङको काजकिरिया गर्दा ढिला भएको र काजकिरिया सम्पन्न गरेसँगै रकम उपलब्ध गराइने तथा चितवनका विजय कुमारको आफन्त पहिचान गर्ने काम भइरहेको पनि मन्त्रालयले जनाएको छ । साथै सरकारले आन्दोलनका क्रममा घाइते भएका दुई हजार ४२९ प्रदर्शनकारीको पहिचान गरी परिचयपत्र वितरणको काम अघि बढाइएको छ । हालसम्म २२०  घाइतेलाई परिचयपत्र वितरण भइसकेको छ । सरकारले घाइतेको सम्पूर्ण उपचार खर्च बेहोर्ने निर्णय गरी प्रतिघाइते २० हजार रकम उपलब्ध गराउनेसमेत निर्णय गरी कार्यान्वयन गरिसकेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल