alliance khabar

बिहिबार, कार्तिक १३, २०८२

काठमाडौँ, कात्तिक १३ गते ।

प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाचार गरेको भेटिए आफ्नै बुवालाई पनि खोरमा थुन्न तयार रहेको बताउनुभएको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटरमा बसेको त्रिपक्षी बैठकमा प्रधानमन्त्री कार्कीले सो कुरा बताउनुभएको हो ।

प्रधानमन्त्री कार्कीले भन्नुभयो, ‘‘म पहिलादेखि लडाकु हुँ । मेरा परिवारका अरु सदस्य पनि लडाकु स्वभावकै हुनुहुन्छ । हामी डराउँदैनौँ । भनेको पुर्‍याउँछौँ ।’’

त्रिपक्षी बैठकमा प्रधानमन्त्री कार्कीले गर्नुभएको मन्तव्यको पूर्णपाठ 
म यहाँ रहरले आएकी होइन। राष्ट्रपति कार्यालयमा म, ओमजी (ओमप्रकाश अर्याल) र मेरो श्रीमान् थियौँ। मैले राजनीतिक नेतासँग डिल गर्न सक्दिनँ, मेरो विधा परेन भनेकी थिएँ। म यतातिर लाग्दिनँ भनेर त्यहाँबाट हिँडेकी पनि हुँ ।

म त्यसरी हिँड्दा देशलाई यस्तो अफ्ठ्यारो परेका बेला, देशले खोजेका बेला जिम्मेवारी नलिने भनेर राष्ट्रपतिज्यूले भन्नुभयो ।

जेनजी युवाहरू मेरो घरैमा आएर अभिभावकत्व लिइदिन भन्नुभयो । प्रधानमन्त्री बन्नुपर्छ भनेर धरधरी रुनु पनि भयो ।

मैले ती निर्दोष बालबालिका निधारमा गोली लागेर ढलेको सम्झिएँ । ती घाइतेहरूको अनुहार हेरेँ। मेरो साथमा जनता छन्, मैले केही गर्नैपर्छ भन्ने लाग्यो र एउटा अठोटसाथ अगाडि आएँ ।

हामी सहिद परिवार, घाइते र ती प्रत्येक परिवर्तनकामी नेपाली युवाको आवाज सम्बोधन गर्न लागिपरेका छौँ । र, बलिदानी दिने सहिदका परिवार अनि घाइतेलाई पनि अलपत्र पार्दैनौँ। बोलेको पुर्‍याउँछौँ ।

हामी चुनावमा केन्द्रित छौँ । प्रत्येक दिन यसैगरी छलफल र गृहकार्य गर्छौँ । कामको प्रगतिविवरण लिन्छौँ । समस्याहरु फुकाउन लागिपरेका छौँ । अविश्वासहरू चिर्दै विश्वासको वातावरण बनाउँदै छौँ, आत्मविश्वास उठाउँदै छौँ ।

प्रहरीको मनोबल पनि बढ्छ । भागेका कैदीबन्दीहरू पनि समातिन्छन् ।

३५ वर्षसम्म मनोबल गिराउन लागिपरेकाहरू अहिले मनोबलको कुरा गरिरहेको पनि देख्छु । भ्रष्टाचार, शोषण र विभेदले खस्काइएको मनोबल एकै महिनामा हामी कसरी उठाउँछौँ ? तर, हामी मनोबल उठाउन लागेका छौँ, उठ्छ । किनकि, हामी सपार्ने दिशामा छौँ ।

अब यहाँ विदेशीको कुरा पनि आयो । विदेशीले हस्तक्षेप गर्छ, यो गर्छ, त्यो गर्छ भन्ने कुरा पनि आयो । तर यो तर्साउने हतियार मात्र हो । यहाँ मलाई एउटा पनि कोही विदेशीले आएर यसो गर र नगर भनेको छैन ।

हामीहरू राजदूत सिंहदरबारमा भेट्छौँ, बालुवाटारमा भेटेका छैनौँ । अहिलेसम्म शिष्टाचार भेट मात्र भएको छ । काम विशेषले हुने भेट मन्त्रीज्यूहरूले गर्नुभएको छ । हामीलाई कुनै विदेशीले खोजेको पनि छैन। त्यसैले विदेशी हस्तक्षेपको कुरा गलत भाष्य हो ।

अर्को कुरा यहाँको अनौठो चलन देखियो भने काम गर्न नदिने, अनि बातैपिच्छे काम गरेन भन्ने। हामी प्रयास गरिरहेका छौँ । हामी रोकिँदैनौँ। जतिसुकै बाधा र अवरोधहरू भए पनि फुकाउँदै अघि बढ्छौँ ।

यहाँ न्यायाधीशका कुरा पनि उठे । संसद विघटनमा भएका निर्णयका पनि कुरा आए । के न्यायाधीशलाई सांसद, मन्त्री, प्रधानमन्त्री, राष्ट्रपति बन्न संविधानले रोकेको छ ? न्यायाधीश भइसकेको व्यक्ति चुनाव लड्न पाउँदैन भनेर संविधानमा लेखेको छ ? भारतमा न्यायाधीशहरू सांसद, मन्त्री भएका छन् । यहाँ यो असामान्य परिस्थितिमा हुँदा किन प्रश्न ? अचम्म छ ।

कहिलेकाहीँ त लाग्छ, हाम्रो नेपाली समाज कुरैकुरामा मात्र बाँचेको छ । काम गर्नु छैन । अरू देशमा राजनीति गर्नेले खेती पनि गर्छ । तर, यहाँ राजनीति मात्र गरेको छ। राजनीति गरेरै आर्यघाट जाने ।

मैले गोली लागेका ती रक्ताम्य युवा देखेको छु । गोलीको वर्षा भइरहेको त्यो जनसागरबीच नारा लगाइरहेका ती युवाको त्यसबेलाको भावभंगी देखेको छु । म त्यही सम्झेर काम गर्छु । मेरो प्रतिबद्धता यही छ ।

म पहिलादेखि लडाकु हुँ । मेरा परिवारका अरु सदस्य पनि लडाकु स्वभावकै हुनुहुन्छ । हामी डराउँदैनौँ । भनेको पुर्‍याउँछौँ ।

अनिलजी (अनिलकुमार सिन्हा) लाई अनुरोध गरेर ल्याएको (मन्त्री बनाएको) हुँ । उहाँजस्तो इमानदार र बझेको मान्छे हुँदा धेरै काम सहज भएको छ । हेर्दै जानुहोस्, हामीले के–के गर्दै छौँ ? हिजो थन्क्याएका फाइल खुलाउँदै छौँ । कति त समातिसकेका छन् । कतिलाई समात्दै छौँ । यदि भ्रष्टाचार गरेको भेटिए मेरै स्वर्गीय बुवालाई पनि लगेर खोरमा थुन्न तयार छु । त्यो दृढताका साथ हामी अघि बढेका छौँ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल