alliance khabar

आइतबार, आश्विन २६, २०८२

भोजपुर,  असोज २६ गते ।

विदेशमा वर्षौँ पसिना बगाएर फर्किएका जिल्लाका धेरै युवा अहिले आफ्नै गाउँमा कृषिमा जोडिन थालेका छन् । रोजगारीको विकल्पका रूपमा कृषिलाई आत्मसात् गर्न थालेपछि गाउँघरमै नयाँ आशा पलाएको छ ।

रामप्रसादराई गाउँपालिका–८ खोक्सिकका मनिराज राई पनि त्यस्तै उदाहरण हुनुहुन्छ । करिब १० वर्ष विदेशमा बिताउनुभएका राई गाउँ फर्केपछि व्यावसायिक तरकारी खेतीमा लाग्नुभएको छ । राईले अहिले गोलभेँडा, बन्दा, फूलकोभी, आलु, मुला, साग, गाँजरलगायत तरकारी उत्पादन गर्दै आउनुभएको छ । वडा कार्यालयको पहलमा तालिम र कृषि औजार पाएपछि खेतीमा लाग्न अझ सहज भएको उहाँको भनाइ छ ।

“विदेशबाट फर्केर आफ्नै गाउँमा व्यावसायिक तरकारी खेतीमा लागेको हुँ”, उहाँले भन्नुभयो, “त्यहाँभन्दा आफ्नै ठाउँमा मेहेनत गरे राम्रो आम्दानी लिन सकिने रहेछ । अहिले परिवारसँग बसेर तरकारी खेतीमै रमाएको छु ।”

तरकारी व्यवसायबाट राम्रै आम्दानी गर्न सकिने देखेपछि  २०७८ सालदेखि व्यावसायिक रूपमा तरकारी खेती गरिरहेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार तरकारी खेतीबाट सबै खर्च कटाएर मासिक रु. २० देखि २५ हजारसम्म आम्दानी हुने गरेको छ । गाउँमै उत्पादन भएको तरकारी स्थानीय बजारमै सजिलै खपत हुने भएकाले उहाँलाई बिक्रीमा समस्या छैन । “आफ्नै गाउँमा व्यावसायिक बन्न सकियो भने पैसा कमाउन बाहिर जानु पर्दैन”, उहाँले भन्नुभयो, “यहाँको माटो र पसिनाले दिने आम्दानीमै सन्तुष्ट छु ।”

व्यावसायिक कृषिमा लागेका किसानलाई पहिचान गरेर उनीहरूको योजनाअनुसार अनुदान, तालिम र उपकरण उपलब्ध गराउँदै आएको वडा कार्यालयले जनाएको छ । वडाध्यक्ष बाचकुमार राईका अनुसार सीमित बजेट भए पनि सङ्घसंस्था र विभिन्न निकायसँग सहकार्य गरेर कृषिलाई नमूनायोग्य बनाउन जोड दिइएको छ । “आर्थिक रूपमा किसानलाई सक्षम बनाउन कृषिलाई प्राथमिकतामा राखेका छौँ”, वडाध्यक्ष राईले भन्नुभयो, “तरकारी खेती, व्यावसायिक बाख्रापालनसँगै विभिन्न सीपमूलक तालिमसमेत दिँदै आएका छौँ ।”

भावी दिनमा माटोको परीक्षण गरेर माटो सुहाउँदो बाली लगाउन किसानलाई प्रोत्साहन गर्ने योजना रहेको उहाँले सुनाउनुभयो । वडामा विनियोजित बजेटले सबै क्षेत्रलाई समेट्न नसकेकाले अन्य निकायसँग सहकार्य गरेर कृषिमा लगानी बढाउने काम भइरहेको वडाध्यक्षको भनाइ छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल