सुलीकोट, असोज ६ गते ।
उत्तरी गोरखामा केही दिन देखिको वर्षाले बेनिघाट–लार्के सडक अवरुद्ध भएको छ । धार्चे–३ तातोपानीदेखि दोभानसम्मको खण्डमा आधादर्जन भन्दा धेरै ठाउँमा पहिरो खसेर सडक अवरुद्ध भएको धार्चे गाउँपालिकाका अध्यक्ष लक्षमण गुरुङले जानकारी दिनुभयो ।
‘तातोपानीनेर दुई तीन ठाउँमा पहिरो खसेको छ । दोभाननेर दुईतीन ठाउँमा पहिरिएको छ’, अध्यक्ष गुरुङले भन्नुभयो, ‘गाउँपालिकाले पहिरो फाल्दै त छ तर कहिले पन्छ्याइसक्छ थाहा छैन ।’ बूढीगण्डकी जलविद्युत आयोजनाले पनि सहयोग गर्न सक्ने उहाँले बताउनुभयो ।
‘गाउँपालिकाले बूढीगण्डकी जलविद्युत आयोजनालाई पनि अनुरोध गरेका छौँ, अध्यक्ष गुरुङले भन्नुभयो, ‘यसअघि तातोपानी–दोभान खण्डमा झरेको पहिरो झण्डै एक महिनापछि बूढीगण्डकी जलविद्युत आयोजनाले पन्छ्याएर सडक खुलाएको छ ।’
सडक अवरुद्ध हुँदा चुमनुब्री गाउँपालिका आवतजावत गर्न कठिनाइ भएको छ । साथै धार्चे गाउँपालिकाको वडा १ र ३ को उहियाका बासिन्दालाई आवतजावत गर्न कठिनाइ भएको छ । साथै पर्यटकीय सिजन सुरु भएसंगै मनास्लु क्षेत्र तथा चुम उपत्यका आवतजावत गर्ने पर्यटकलाई पनि समस्या भएको गाउँपालिकाले जनाएको छ ।
सडक अवरुद्ध हुँदा मनास्लु आरोहणका लागि अनुमति लिएका ३५० जना भन्दा धेरै आरोहीको सामान ढुवानी गर्ने भरिया तथा खच्चडका लागि पनि सकस भएको छ । नेपालीहरुको महान् चाड दसैँको घटस्थापनासम्म पनि सडक मर्मत नहुदाँ उत्तरी गोरखाका स्थानियहरु चिन्तित भएका धार्चे – ५ स्थानीय युवा राज गोरखाकालीले बताउनुभयो ।
दसैँसम्म पनि सडक मार्ग खुलाइएन भने उत्तरी गोरखाका नागरिकहरु महङगो रकम तिरेर हेलिकप्टर चार्टर गरेर दशै मनाउन घर जानु पर्ने बाध्यता हुन सक्ने बताइएको छ ।
