पश्चिम नवलपरासी, असोज ४ गते ।
नारायणी नदीमा आएको बाढीले सुस्ता गाउँपालिकाको सुस्ता गाउँलाई जोखिममा पारेपछि स्थानीय आफ्नै प्रयासमा कटान रोक्न जुटेका छन् । नदीको भेल दुई दिनअघि थारू बस्तीभित्र पस्दा बस्ती डुबानमा पर्ने अवस्था सिर्जना भएको थियो । अहिले पानीको बहाब केही कम भए पनि नदीले लगातार कटान गरिरहेको छ ।
स्थानीयले दुई दिनदेखि बोरामा माटो, ढुङ्गा र बालुवा भरेर कटान रोक्ने प्रयास गरिरहेका छन् । सुस्ता बचाउ अभियानका प्रवक्ता रवीन्द्र जयसवालले नदीको कटान अझै नरोकिएको जानकारी दिनुभयो । उहाँका अनुसार गाउँ बचाउन तत्काल तारजालीसहितको पर्खाल बनाउनै पर्ने देखिन्छ । जयसवालले भन्नुभयो, “हामीले सक्दो प्रयास गरिरहेका छौँ तर जोखिम अझै कायम छ ।”
नारायणी नदीले तीनतर्फ घेरिएको र अर्कोतर्फ भारतीय भूभाग जोडिएको सुस्ता बाढीको उच्च जोखिममा रहेको बस्ती हो । ठुलो बाढी पसेमा उद्धार नै कठिन हुने भएकाले स्थानीय रातभर जाग्राम बसेर सतर्क रहने गरेका छन् ।
नारायणी नदीमा पुल बनेपछि नेपालतर्फ सिधा पहुँच भए पनि बाढी नियन्त्रणका प्रभावकारी काम नहुनु सुस्तावासीका लागि दीर्घकालीन चुनौती बनेको छ । प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीका अनुसार सशस्त्र प्रहरी बलको टोलीले स्थानीयलाई सहयोग गरिरहेको छ । बाढी पस्न थालेपछि बिहीबार राति स्थानीयले निरन्तर बोरा भरेर नदी किनारमा राखे पनि कटान रोकिएको छैन ।
तटबन्ध अधुरै
सुस्ता बचाउन आवश्यक तटबन्ध निर्माण पाँच वर्षदेखि अलपत्र छ । भारतले नदी नियन्त्रणका लागि आवश्यक भूभाग नदिएपछि तटबन्ध बिच भूभाग हुँदै बनाइएको हो ।
सुस्ता घाटदेखि धनैयारेता हुँदै सिमलको रूखसम्म करिब चार किलोमिटर लामो तटबन्धमध्ये साढे दुई किलोमिटर मात्र बनेको छ । बाँकी भाग बजेट अभाव र व्यवस्थापकीय कमजोरीका कारण अधुरै छ ।
भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले उक्त क्षेत्रमा संरचना निर्माण र खेती गर्न नदिएकाले समस्या थपिएको छ । स्थानीय मुन्सी हरिजनका अनुसार बाँकी तटबन्ध तत्काल पूरा नगर्ने हो भने सुस्ताको बाँकी भूमि पनि नदीले बगाउने खतरा छ ।
बाढीले दुई किलोमिटर क्षेत्रमा बढी कटान गरिरहेको र तटबन्धले भेल थेग्ने स्थिति नरहेको स्थानीयको भनाइ छ । उनीहरूले तत्काल बलियो संरचना निर्माण गर्न सरकारसँग आग्रह गरेका छन् ।
