मध्यविन्दु, असोज २ गते ।
नवलपुरको कावासोतीमा आमाघर तथा लोक सांस्कृतिक सङ्ग्राहलय निर्माण हुने भएको छ ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल नवलपुरले ऐतिहासिक र गौरवशाली परियोजना अन्तर्गत यहाँ आमाघर तथा सांस्कृतिक सङ्ग्राहलय निर्माण गर्न लागेको हो । जस अन्तर्गत अहिले कावासोती ६ भाट्टोलामा भवन निर्माणको क्रममा छ । पर्खाल निर्माण र ( डिपिसी ) ढलान सहित पिल्लर निर्माणसम्मको काम सम्पन्न गर्दा करिव ५० लाख रुपिँया खर्च भएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल नवलपुरका अध्यक्ष बुद्धिनाथ घिमिरेले जानकारी दिनुभयो । अहिलेसम्म विभिन्न सहयोगी दाताहरूबाट सङ्कलित रकमले उक्त भौतिक पूर्वाधार निर्माण सम्पन्न गर्न सफल भएको घिमिरेले बताउनुभयो ।
आमाघर किन भनियो भन्ने जिज्ञासा सबैलाई लाग्न सक्छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको जन्मथलो साबिकको नवलपरासी जिल्ला भएकै कारण आमा घर नामकरण गरिएको हो । २०५७ सालमा साविक नवलपरासी जिल्ला निवासी लोक गायक लोक बहादुर क्षेत्रीको स्मृतिमा अरुणखोलामा आयोजना गरिएको सांस्कृतिक कार्यक्रमको अवसर पारेर अमर विरही गुरुङको संयोजकत्वमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको तदर्थ समिति गठन भएको थियो । नवलपरासी संस्थाको जन्मथलो भएका कारण यहाँ आमा घर नामकरण गरी भवन निर्माण गरिएको अध्यक्ष घिमिरेले जानकारी दिनुभयो ।
आमाघर तथा लोक सांस्कृतिक सङ्ग्राहलय निर्माण सम्पन्न भएपछि यसलाई साङ्गीतिक पाठशालाका रुपमा विकास गर्ने उद्देश्य संस्थाले लिएको छ । परम्परा, संस्कृति र लोककला जोगाउने साझा धरोहरका रूपमा रहने र यो परियोजनाले सांस्कृतिक सम्पदा संरक्षण मात्रै नभई आगामी पुस्तालाई आफ्नो मौलिक पहिचानको ज्ञान दिन पनि मद्दत पुग्ने विश्वास लिएको अध्यक्ष घिमिरेले बताउनुभयो ।
यहाँ नेपाली पुराना मौलिक कला संस्कृति झल्कने बाद्यबाद्यनका सामग्रीसहित परम्परागत वस्तु तथा भेषभुषा समेत प्रदर्शनमा राखिने योजना संस्थाको छ । नवलपुरमा बसोबास गर्ने आदिवासी जनजातिहरू बोटे माझी मुसहर , थारू ,नेवार, मगर, गुरुङ, कुमाल समुदायका मौलिक कला संस्कृतिहरू जस्तै लाखे नाच , कौरा नाच , सोरठी , लाठी नाच, झाम्टा नाच र देशैभरका विभिन्न आदिवासी समुदायका मौलिक संस्कृति र ब्राम्हण क्षेत्री समुदायमा प्रचलित भजन चुट्का जस्ता संस्कृतिलाई जगेर्ना र संरक्षण गर्नुका साथै आवश्यक पर्दा प्रस्तुत गर्ने योजना रहेको अध्यक्ष घिमिरेले सुनाउनुभयो ।
भवन निर्माणमा बजेट अभाव
वृहत उद्देश्य लिएर निर्माण सुरु गरिएको यस भवनका लाग बजेटको अभाव रहेको अध्यक्ष घिमिरेले गुनासो गर्नभयो । अहिलेसम्म कार्यसमित तथा विभिन्न सहयोगी दाताहरूबाट सङ्कलित रकमले सुरुआति चरणका काम मात्रै गर्न सकिएको , रकम अभावकै कारण थप काम गर्न रोकिएको घिमिरेले बताउनुभएको छ । सरकारी स्तरबाट गैडाकोट नगरपालिकाबले मात्रै केही रकम विनियोजन गरेको थियो । ‘त्यसबाहेक अन्य पालिका तथा संघ प्रदेशका कार्यालयबाट हामीले रकम पाएका छैनौ , ताकेता भने गरेका छौँ । यसपाली राम्रै सहयोग हुने आशा थियो तर देशको परिस्थितीले गर्दा निराश बनाएको छ तर पनि आशा मारेका छैनौ कुनै न कुनै सहयोगि हातहरु पक्कै पनि अघि सर्नेछन भन्ने विश्वास लिएका छौँ,’ घिमिरेले भन्नुभयो ।
यहाँका केही कावासोती, गैंडाकेट तथा विनयी त्रिवेणीका केही वडाहरुबाट पाएको रकमले कार्यालय सञ्चालन गर्न आवश्यक सामग्री तथा बाद्ययबाद्यनका सामग्री खरीद गरेको उहाँले बताउनुभयो ।