ढाका, असोज २ गते ।
बङ्गलादेश निर्वाचन आयोगले पूर्वप्रधानमन्त्री शेख हसिना र उहाँका परिवारका सदस्यलाई आगामी वर्ष फेब्रुअरीमा हुने राष्ट्रिय चुनावमा मतदान गर्न नपाउने घोषणा गरेको छ ।
“आगामी संसदीय चुनावले देशभित्र र विदेशमा दुवै मतदानको सुविधा दिने छ । विदेशमा रहेका बङ्गलादेशीले अनलाइन दर्ता गर्नु पर्ने छ, जसका लागि हाल नयाँ प्रणाली विकास भइरहेको छ”, निर्वाचन आयोग (इसी) का वरिष्ठ सचिव अख्तर अहमदले बुधबार भन्नुभयो ।
उनका अनुसार प्रवासीले पासपोर्ट नभई, आफ्नो एनआइडी प्रयोग गरेर मात्र अनलाइन दर्ता गर्न सक्ने छन् । जसको एनआइडी ब्लक गरिएको छ, उनीहरूले अनलाइन दर्ता गर्न पाउने छैनन् र दर्ता गर्न सक्नेहरूलाई मात्र मतदान गर्ने अधिकार हुने छ । दैनिक युगान्तोरका अनुसार निर्वाचन आयोगले गत फेब्रुअरी १६ मा शेख हसिनासहित उहाँका १० जना परिवारका सदस्यको एनआइडी अवरुद्ध गरेको थियो ।
ब्लकमा परेका मध्ये उहाँका छोरा सजीब वाजेद जोय, छोरी साइमा वाजेद पुतुल, बहिनी शेख रेहाना, भतिजी ट्युलिप रेजवाना सिद्दीकी र अजमिना सिद्दीकी, साथै भतिजा रादवान मुजीब सिद्दीकी पनि हुनुहुन्छ । शेख हसिना विदेशबाट मतदान गर्न पाउने हो कि भन्ने प्रश्नमा सचिव अहमदले भन्नुभयो, “उहाँको एनआइडी अवरुद्ध छ । त्यसैले उहाँले मतदान गर्न सक्नु हुने छैन ।”
पूर्वप्रधानमन्त्री हसिना गत वर्ष अगस्ट ५ मा विद्यार्थी नेतृत्वको विद्रोहपछि देश छोडेर भारतमा शरण लिन पुग्नुभएको थियो । त्यसपछि नोबेल पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार बनेको हो । युनुसले फेब्रुअरीमा राष्ट्रिय चुनाव हुने घोषणा गरिसक्नुभएको छ ।
गत अगस्टमा प्रमुख सल्लाहकारको कार्यालयले निर्वाचन आयोगलाई सन् २०२६ फेब्रुअरीमा रमजान सुरु हुनु अघि चुनाव सम्पन्न गर्न सबै तयारी पूरा गर्न निर्देशन दिएको थियो । मुख्य सल्लाहकारका प्रमुख सचिव एम सिराज उद्दीन मियाले मुख्य निर्वाचन आयुक्तलाई पठाएको पत्रमा निर्धारित समयमा स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण र उत्सवपूर्ण निर्वाचन सम्पन्न गर्न आवश्यक सबै कदम चाल्न आग्रह गर्नुभएको थियो ।