उर्लाबारी, असोज २ गते ।
गत भदौ २४ गते भएको जेनजी पुस्ताको आन्दोलनका क्रममा मोरङको कानेपोखरी गाउँपालिकामा चार करोड नौ लाख ९७ हजार ८५९ रुपियाँ बरावरको क्षति भएको छ ।
बिहीबार कानेपोखरी गाउँपालिकाले सर्बदलीय छलफल राखेर क्षतिको विवरण सार्वजनिक गरेको छ । प्रमुख प्रशासकीय अधिकृत हिराकुमारी यादवले १४ लाख रुपियाँको औषधि उपकरण, पूर्वाधारतर्फ पाँचवटा वडा कार्यालय र दुईवटा पालिका भवनमा ९२ लाख २४ हजार ८७१ रुपियाँ बरावरको क्षति भएको छ ।
यस्तै, दैनिक सञ्चालनमा प्रयोग हुने नखप्ने सामान ३३ लाख ७९ हजार १२३ रुपियाँ बरावरको क्षति भएको छ । भौतिक सम्पत्तितर्फ २ करोड ६६ लाख ४ हजार ९५३ रुपियाँ बराबरको क्षति भएको छ । भौतिक सम्पत्तिमा तीनवटा चार चक्के गाडी, एउटा सिटी सफारी, ५० थान कम्प्युटर सेट, २४ थान ल्यापटप, १० थान फोटोकपी मेसिन, ६२ थान प्रिन्टर, १५ थान बायोमेट्रिक मेसिन, आठ थान एसी ४५ थान व्याट्रि लगायत छन् ।
गाउँपालिका अध्यक्ष राजमति इङ्नामको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काङ्ग्रेसका भापति योगेन्द्रप्रसाद दाहाल, एमाले अध्यक्ष भुपाल श्रेष्ठ, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष दुर्गाबहादुर कार्की र रास्वपाका अध्यक्ष सुनीलदत्त अधिकारीले क्षतिप्रति दुःख प्रकट गर्दै पालिकालाई पूर्ववत सञ्चालनका लागि सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो ।
उहाँहरूले आन्दोलनमा घुसपैठ गर्न आफ्नो पार्टीका नेता कार्यकर्ता कोही सहभागी भएको पाइएमा तिनीहरूलाई कारबाही गर्ने घोषणा गर्नुभयो ।