नेपालगन्ज, असोज २ गते ।
जेनजी प्रदर्शनका क्रममा भदौ २४ गते बाँके जिल्लाका विभिन्न सरकारी कार्यालय र स्थानीय तहमा गरिएको आगजनी र तोडफोडबाट तीन सयभन्दा बढी सवारी साधन नष्ट भएका छन् ।
नष्ट भएका सवारी साधनहरुमा मोटरसाइकल धेरै रहेको विभिन्न कार्यालयबाट प्राप्त भएको तथ्याङ्कबाट जानकारी भएको छ ।
विभिन्न समयमा पक्राउ गरेर नेपालगन्ज भन्सार कार्यालयमा राखिएका दुई सयभन्दा बढी सवारी साधनसहित जिल्लाको कोहलपुर र नेपालगन्जका सरकारी कार्यालय तथा स्थानीय तहमा रहेका तीन सयभन्दा बढी सवारी साधन नष्ट पारिएका हुन् ।
सबैभन्दा बढी सवारी साधन नेपालगन्ज भन्सार कार्यालयमा जलाइएको सो कार्यालयले जनाएको छ ।
नेपालगन्ज भन्सार कार्यालयका प्रमुख जनार्दन पौडेलले लिलाम गर्ने उद्देश्यले राखिएका र कार्यालयका कर्मचारीका गरेर दुई सयभन्दा बढी कार, भ्यान र मोटरसाइकलहरु ध्वस्त पारिएको जनाउँदै भन्सारमा मात्रै सात करोडभन्दा बढीको क्षति भएको अनुमान गरिएको बताउनुभयो ।
सोही प्रकारले नेपालगन्ज उपमहानगरपालिकामा एक एम्बुलेन्ससहित आठ वटा चारपाङ्ग्रे गाडी, सात वटा स्कुटर र १५ वटा मोटरसाइकल गरेर ३० वटा सवारी साधन पूर्ण रुपमा नष्ट पारिएको उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्माले बताउनुभयो ।
उहाँले कार्यालयभित्र रहेका सबै सवारी साधन पूर्ण रुपमा नष्ट पारिएको बताउनुभयो ।
यसैगरी कोहलपुर नगरपालिकामा पनि एउटा एम्बुलेन्ससहित १५ वटा सवारी साधनलाई पूर्ण रुपमा नष्ट पारिएको कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीले बताउनुभयो ।
सोही प्रकारले उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासको कार्यालयमा छ गाडीसहित नौ वटा सवारी साधन नष्ट गरिएको सो कार्यालयका सूचना अधिकारी बलबहादुर बिष्टले बताउनुभयो ।
यस्तै, बाँकेको जिल्ला प्रशासन कार्यालय, भूमिसुधार तथा मालपोत कार्याल, आन्तरिक राजस्व कार्यालय, जिल्ला अदालत, नापी कार्यालय, प्रहरी कार्यालय जयसपुर, कृषि ज्ञान केन्द्र बाँके, राजस्व अनुसन्धान कार्यालय कोहलपुर र इलाका प्रशासन कार्यालय कोहलपुरमा रहेका अधिकांश सवारी साधनहरु पनि नष्ट पारिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
सवारी साधन लगायत सबै क्षतिको विवरण सङ्कलन भइरहेकाले अझै यकिन क्षति थाहा नभएको तर धेरै ठुलो क्षति भएको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दीपक पातलीले बताउनुभयो ।