दमक, भदौ २६ गते ।
जेनजी आन्दोलको क्रममा आन्दोलनकारीहरु झापाको प्रहरी कार्यालयहरुलाई नियन्त्रणमा लिएर बिभिन्न इलाका प्रहरी कार्यालयहरुमा रहेका ९२ जना थुनुवाहरुलाई भगाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार आन्दोलनकारीहरूले गम्भीर, जघन्य प्रकृतिका साथै अन्य अपराधमा संलग्न रही अनुसन्धानमा रहेका थुनुवाहरूलाई भगाएको उल्लेख गरेको छ ।
विहीबार जिल्ला प्रहरी कार्यालय झापाले पत्रकारलाई उपलब्ध गराएको विवरणअनुसार इलाका प्रहरी कार्यालय दमकबाट ५१ जना, अनारमनीबाट ३६ जना र झिलझिलेबाट ५ जना गरी ९२ जना फरार भएको उल्लेख गरिएको छ ।
फरार भएकाहरु हत्या, डकैती, लागुऔषध कारोबारजस्ता अपराधमा संलग्न रहेको प्रहरीले जनाएको छ । फरार थुनुवाहरूको खोजतलास जारी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
