न्यूनतम पारिश्रमिक २५ हजार नतोकिए कडा कदम चाल्ने नेपाल ट्रेड यूनियन काँग्रेस (एनटीयूसी)ले चेतावनी दिएको छ । शुक्रबार प्रेस विज्ञप्ती जारी गर्दै यूनियनले दिइँदै आएको पारिश्रमिकले श्रमजीविलाई जीवनयापन गर्न पर्याप्त नहुने भएको भन्दै पारिश्रमिक बढाउन सल्लाह दिएको हो ।
नेपालको श्रम ऐन, २०७४ मा व्यवस्था भए अनुसार प्रत्येक २/२ वर्षमा त्रिपक्षिय सहमतीका आधारमा श्रमजीविहरुको न्युनतम पारिश्रमिक निर्धारण गरी लागु गर्नुपर्ने विषयमा आफू कटिबद्ध रहेको एनटीयूसीले जनाएको छ । र सोही व्यवस्था बमोजिम २०८० आषाढ मसान्तमा त्रिपक्षको आधारमा न्युनतम पारिश्रमिक निर्धारण गरी श्रावणदेखि लागु गर्नुपर्नेमा सरकार, रोजगारदाता र ट्रेड युनियनबीच पटक–पटक छलफल हुँदा पनि सहमतिमा पुग्न नसकेको अवस्था आएको भन्दै ट्रेड यूनियन काँग्रेसले कडा कदम उठाउने चेतावनी दिएको हो ।
सरकारी कार्यालयमा कार्यालय सहयोगीको समेत पारिश्रमिक २६ हजार रुपैयाँ रहँदा श्रमजीविहरुले १५/१६ हजार मात्र पाउने गरेको र त्यतिले यो महंगीको समयमा गुजारा नै नचल्ने भएका कारण न्यूनतम पारिश्रमिक २५ हजार तोक्न ट्रेड यूनियन काँग्रेसले दवाव दिएको हो ।