भारदह(सप्तरी), भदौ ११ गते ।
सप्तरीको सुरूङ्गा नगरपालिका जिल्लामा पहिलो र मधेसमा तेस्रो स्थान प्राप्त गरेको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहको संस्थागत क्षमता स्वमूल्यांकन लिसाको गुणस्तरीय परिक्षणमा यस नगरपालिकाले ७७ अंक प्राप्त गरि जिल्लामा उत्कृष्ट र मधेस प्रदेशमा तेस्रो स्थान हासिल गरेको हो ।
स्थानीय तहहरूको संस्थागत क्षमता, सेवा प्रवाह, योजना कार्यान्वयन, वित्तीय व्यवस्थापन, सुशासन र नागरिक सहभागिताका आधारमा गरिएको मूल्याङ्कनमा सुरुङ्गाले उत्कृष्ट अंक ल्याउन सफल नगरपालिकाका नगरप्रमुख गीता चौधरीले जानकारी दिनुभयो ।
मधेश प्रदेशका एकसय ३६ स्थानीय तहको प्रतिस्पर्धामा समेत सुरुङ्गाले तेस्रो स्थान प्राप्त गरेपछि नगरवासी एकदमै खुशी भएको स्थानीयले बताउनुभयो ।
जिल्लामा ७१.५० अंक प्राप्त गरेर तिलाठी कोइलाडी गाउँपालिका दोस्रो ७०.५ अंक प्राप्त गरेर सप्तकोसी नगरपालिका तेस्रो, ६९.५ अंक प्राप्त गरेर खडक नगरपालिका चौथो, अग्नि साइर कृष्णा संवरण गाउँपालिका ६८.५० अंक प्राप्त गरि पाँचौ, राजविराज नगरपालिका ६५.७५ अंक प्राप्त गरि छैठौं, तिरहुँत गाउँपालिकाले ६५.२५ अैक प्राप्त गरि सातौं स्थान, बलान बिहुँल गाउँपालिकाले ६४.५० अंक प्राप्त गरि आठौं स्थान प्राप्त गरेको छ ।
त्यसैगरी जिल्लाको बोदेबरसाइन नगरपालिकाले ६३.५० अंक प्राप्त गरि नवौं,कंचनरूप नगरपालिकाले ६२.५० अंक प्राप्त गरि दशौं, शम्भुनाथ नगरपालिकाले ६०.५० अंक प्राप्त गरि एघारौं,राजगढ गाउँपालिकाले ५६.२५ अंक प्राप्त गरि बाह्रौं, हनुमान नगर कंकालिनी नगरपालिकाले ५२.२५ अंक प्राप्त गरि तेह्रौं, छिन्नमस्ता गाउँपालिकाले ५१ अंक प्राप्त गरि चौधौं,रूपनी गाउँपालिकाले ४९ अंक प्राप्त गरि पन्ध्रौं, महदेवा गाउँपालिकाले ४८ अंक प्राप्त गरि सोह्रौ, डाक्नेश्वरी नगरपालिकाले ४६.७५ अंक प्राप्त गरि सत्रौं स्थान प्राप्त गरेको छ भने सबै भन्दा कम विष्णुपुर गाउँपालिकाले ३७.७५ अंक प्राप्त गरि अन्तिम भएको छ ।
जिल्लामा १८ पालिकामा ९ वटा नगरपालिका र ९ वटा गाउँपालिका रहेका छन् । जसमध्ये सुरूङ्गा नगरपालिकामा महिला निर्वाचित नगरप्रमुख रहेका छन् । उहाँको निरन्तर उत्कृष्ट कामले यो पालिका पहिलो भएको स्थानीयको भनाइ छ ।