काठमाडौँ, भदौ ८ गते।
हमास समूहको नियन्त्रणमा रहेका विपिन जोशीका परिवारले परराष्ट्रमन्त्री डा. अरजु राणा देउवासँग भेट गरेका छन्। आइतबार विपिनकी आमा पद्मा र बहिनी पुष्पाले परराष्ट्रमन्त्री डा देउवासँग भेट गर्नुभएको हो।
मन्त्री डा. राणा र परराष्ट्र मन्त्रालयले विपिनको रिहाइका लागि हालसम्म गरेको प्रयत्नका लागि आभार व्यक्त गर्दै उहाँहरुले आगामी दिनमा थप सक्रियताका साथ निरन्तरता दिन आग्रह गर्नुभएको छ।
मन्त्री डा. राणाको पहल एवं नेपालस्थित इजरायली राजदूतावासको समन्वय तथा सहयोगमा विपिनकी आमा र बहिनी विपिनको अवस्था बुझ्न र उहाँको रिहाइका लागि अपिल गर्न हालै इजरायल जानुभएको थियो। इजरायलबाट फर्केपछि उहाँहरुले मन्त्री डा. राणालाई भेटेर यसबारेमा जानकारी गराउनुभएको हो।
इजरायलमा रहँदा त्यहाँस्थित नेपाली राजदूत प्रा. डा. धनप्रसाद पण्डित र इजरायल सरकारका अधिकारीले सहयोग गर्नुभएको र त्यहाँ राष्ट्रपतिदेखि उच्च सरकारी अधिकारीसँग भेटेर विपिनको रिहाइका लागि अपिल गर्न पाएको जानकारी दिनुभएको थियो।
मन्त्री डा. राणाले सरकारले विपिनको रिहाइमा सक्दो कूटनीतिक प्रयत्न गरिरहेको र आगामी दिनमा यसलाई थप सशक्त बनाउने बताउनुभयो। मन्त्री डा. राणाले विपिन अपहरणमा परेको करिब ९ महिनापछि आफू मन्त्रीमा नियुक्त भएको र त्यसलगत्तै आफूले सो मुद्दालाई प्राथमिकतामा राखेर काम सुरु गरेको जानकारी दिनुभयो।
उहाँले भन्नुभयो “यो एकवर्षमा म उपस्थित भएका संयुक्त राष्ट्रसङ्घीय महासभादेखि अन्तर्राष्ट्रिय मञ्च, विभिन्न द्विपक्षीय तथा अन्तर्राष्ट्रिय बैठक तथा भेटवार्तामा विपिन रिहाइको आग्रह गरिरहेकै छु। हामीले कूटनीतिक माध्यमबाट गर्न सक्ने र मिल्नेजति पत्राचार एवं अन्य आवश्यक पहल जारी नै राखेका छौँ।”
मन्त्री डा. राणाले आफूले इजरायल, इजिप्ट, इरान, कतार, संयुक्त अरब इमिरेट्स, टर्कीदेखि लिएर अन्य देशका विदेशमन्त्री एवं अधिकारीसँगको भेटमा विपिन रिहाइको मुद्दालाई सशक्त रुपमा राख्दै आएको जानकारी गराउनुभयो। विपिन रिहाइको मुद्धालाई आगामी दिनमा सरकारले थप सशक्त रुपले अघि बढाउने उहाँको भनाइ छ। सन् २०२३ अक्टोबरमा इजरायलबाट विपिन जोशी हमास समूहको अपहरणमा पर्नुभएको थियो। त्यसपछि उहाँको अवस्था अज्ञात छ।