बागलुङ (गलकोट) साउन २१ गते ।
जैमिनी नगर कार्यपालिकाको बैठकले प्रशासकीय भवन निर्माणको समयावधि थप गरिएको छ ।
निर्माण कम्पनी जुगल रविना प्राकृतिक कन्ट्रक्सनले जिम्मा लिएको भवन निर्माणको पहिलो पटक म्याद थप गर्दा पनि काम नसकेपछि दोस्रो पटक म्याद थप गरिएको हो ।
गत असारमा सम्पन्न जैमिनी नगर कार्यपालिका बैठकले ६ महिनाका लागि दोस्रो पटक म्याद थप गरिएको जैमिनी नगरपालिका प्रमुख नर बहादुर पुनले बताउनुभयो । जैमिनी नगरपालिका–१ कुश्मीसेरामा निर्माणाधीन भवन तोकिएको समयमा नसकिएपछि म्याद थप गर्ने निर्णय गरिएको नगर प्रमुख पुनले बताउनुभयो ।
‘‘म्याद थप नगरी केही उपाय नै लागेन, म्याद नथप्दा मुद्दा हाल्न गयो भने झनै समस्या हुँदो रहेछ,’’ उहाँले भन्नुभयो, ‘‘त्यो समस्या हुने भएपछि बैठकले ६ महिनाका लागि म्याद थप गरिएको छ ।’’
बैठकले भवन निर्माणको जिम्मा लिएको जुगल रविना प्राकृतिक कन्ट्रक्सन कम्पनीले पूर्व निर्धारित समयसिमा भित्र विभिन्न कारण निर्माण कार्यमा अवरुद्ध हुँदा समयमा निर्माण सम्पन्न गर्न नसकेको कारण देखाई ६ महिना म्याद थपका लागि गत जेठ २३ गते निवेदन दिएको थियो ।
गत असार ८ गते बैङ्क जमानतको कागजात पेश भई अनुरोध गरिएकाले सार्वजनिक खरिद ऐन २०६३ को दफा ५६ तथा सार्वजनिक खरिद नियमावली २०६४ को चौथो संशोधनको नियम १२० बमोजिम म्याद सकिएको अवधिदेखि लागू हुनेगरी माग बमोजिम ६ महिनाका लागि म्याद थप गरिएको बताइएको छ ।
पहिलो पटक गत पुस १६ गते म्याद सकिएपछि ६ महिनाका लागि म्याद थप गरिएको थियो । पहिलो पटक थपिएको म्याद गत असार १६ गत सकिए पनि काम नसकिएपछि पुनः दोस्रो पटक म्याद थप गरिएको हो ।
रविना, प्राकृतिक जुगल जेभीले आठ करोड १७ लाख ६५ हजार ८२ रुपियाँमा भवन निर्माणको जिम्मा लिएको थियो । २०८१ साल असार मसान्तसम्म भवन निर्माण गर्नेगरी माघ २१ गते ठेक्का सम्झौता गरिएको गरिएको थियो । प्रशासकीय भवन चार तलाको ४२ कोठे हुने छ ।