काठमाडौं, साउन १५ गते ।
नेपाल तरुण दलको ३२ जिल्लामा अधिवेशन सम्पन्न भएको छ । तरुण दलका अध्यक्ष विद्धान गुरुङका अनुसार आउँदो मंसिर २६, २७ र २८ गतेसम्म पाँचौं महाधिवेशन सम्पन्न गर्ने लक्ष्य अनुरुप अहिले सदस्यता वितरणको कार्य भइरहेको छ ।
उहाँले हालसम्म ६५ जिल्लामा सदस्यता वितरणको कार्य भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “६० देखि ६५ जिल्लामा पूर्णकालीन सदस्य र साधारण सदस्य सबै सङ्गठनमा बाँड्ने काम सकिएको छ । वडा, पालिकासम्मको अधिवेशन मोटामोटी रुपमा भइसकेको अवस्था छ । ३२ जिल्लामा वडा, पालिका सबै सङ्गठनमा बाँड्ने काम सकिएको छ ।”
उहाँले आउँदो भदौ, असोज र कात्तिकको पहिलो हप्तासम्म बाँकी रहेका सबै जिल्लामा अधिवेशन सम्पन्न हुने बताउनुभयो ।
उहाँले भन्नुभयो, “सात, आठ वटा जिल्ला अधिवेशन गर्ने तयारीमा हुनुहुन्छ । बाँकी जिल्लामा भदौ, असोज र कात्तिकको पहिलो हप्तासम्म सबै जिल्लामा अधिवेशन गर्ने गरी साथीले प्रतिनिधित्व गर्नुभएको छ । सङ्गठनमा लागिरहनुभएको छ ।”
उहाँले अहिले मनसुनजन्य विपद्को समयमा ‘जहाँ विपद् त्यहाँ तरुण’ भन्ने नाराका साथ उद्धार तथा राहत वितरणको कार्य भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “अहिले वर्खाको बेला छ । यो बेलामा ‘जहाँ विपद् त्यहाँ तरुण’ भन्ने एउटा नारा छ । जहाँ विपद् हुन्छ त्यहाँ जिल्लाका साथी सुरक्षाकर्मीसँग समन्वय गरेर उद्धारमा खट्ने भनेर सबै ठाउँमा सूचित गरेका छौं ।”
उहाँले तोकिएको समयमै अधिवेशन सम्पन्न हुने गरी गतिविधि अघि बढिरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “तोकिएको समयमा जसरी पनि हामी महाधिवेशन गर्छौं । तरुण दलको पाँचौं अधिवेशन गर्न पूर्णरुपमा तयारीमा छौं ।”