लमजुङ, साउन १२ गते ।
लमजुङको दोर्दी गाउँपालिकाले आफ्ना सबै नागरिकको निःशुल्क स्वास्थ्य बीमा गर्न सुरु गरेको छ । गाउँपालिकाले विभिन्न चार ठाउँबाट आइतबारदेखि निःशुल्क स्वास्थ्य बीमा अभियान सुरु गरेको हो ।
दोर्दीको वडा १ को भारते, वडा २ को अर्चलबोट, वडा ३ को लामाबगर र वडा ४ को नौथर शेराबाट निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम सुरु गरिएको हो । गाउँपालिकाले ९ वटै वडाका चार हजार दुईसय २५ घरधुरीका सबै नागरिकको स्वास्थ्य बीमा गर्ने भएको छ ।
गाउँपालिका अध्यक्ष युवराज अधिकारीले साउन महिनाभित्र गाउँपालिकाका सबै नागरिकको निःशुल्क स्वास्थ्य बिमा गरिसक्ने र असोज १ गतेबाट लागू हुने बताउनुभयो । बिमाका लागि पाँच जनासम्मको परिवारका लागि तीन हजार पाँचसय रुपियाँ लाग्नेछ ।
पाँचजना भन्दा बढी ब्यक्ति भएका परिवारमा लाग्ने प्रतिब्यक्ति सातसय रुपियाँ पनि पालिकाले ब्यहोर्ने अध्यक्ष अधिकारीले बताउनुभयो । गाउँपालिकाले ‘जलविद्युत्को आम्दानी–स्वास्थ्य बिमामा लगानी’ नारा तय गरी गाउँपालिकाका नागरिकको स्वास्थ्य बिमा गर्न लागेको हो ।
दोर्दीमा सञ्चालित जलविद्युत् आयोजनाबाट प्राप्त रोयल्टीबाट निःशुल्क स्वास्थ्य बिमा गरिने अध्यक्ष अधिकारीले बताउनुभयो । “यहाँ जलविद्युत् आएर हामीले के पायौं भनेर जनाताले प्रश्न गर्ने गरेका थिए । जलविद्युतबाट हुने आम्दानी जनताको स्वास्थ्यमा लगानी गर्यौं” अधिकारीले भन्नुभयो, “अब यो कहिले रोकिदैन, बृद्धा भत्ता दिएजस्तै हो, निरन्तर चलिरहन्छ ।”
दोर्दी गाउँपालिकाको गत असार १० गते पारित आर्थिक वर्ष २०८२–८३ को नीति तथा कार्यक्रममा दोर्दी गाउँपालिका स्थायी ठेगाना भई स्थायी रुपमा बसोबास गरी दोर्दीमै चुलो बालिरहेका सबै घरपरिवारको निःशुल्क स्वास्थ्य बीमा गर्ने उल्लेख छ । यसका लागि गाउँपालिकाले १ करोड ५० लाख रुपियाँ बजेट विनियोजन गरेको छ ।
दोर्दीमा ५४ मेगावाटको सुपर दोर्दी ‘ख’ जलविद्युत् आयोजना, २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’, १२ मेगावाटको दोर्दी–१, २७ मेगावाटको दोर्दीखोला जलविद्युत् आयोजना लगायत छन् ।
यी जलविद्युत आयोजनाबाट प्राप्त हुने रोयल्टीबाट निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गरिएको प्रमुख प्रशासकीय अधिकृत हेमराज काफ्लेले बताउनुभयो । उहाँका अनुसार स्वास्थ्य बिमा बोर्डअन्तर्गत वडामा रहेका बिमा सहजकर्तामार्फत नागरिकहरुको बिमा हुनेछ ।
स्वास्थ्य बिमा बोर्ड लमजुङका संयोजक रमेश खनियाले साउन महिनाभित्र दोर्दी गाउँपालिकाका सबै नागरिकको स्वास्थ्य बिमा गराइने बताउनुभयो । यसका लागि वडा कार्यालयको समन्वयमा सहजकर्ता टोल–टोलमा जानेछन् ।