काठमाडौँ, श्रावण १० गते ।
नेपाल ट्रेड युनियन कांग्रेस बागमती प्रदेशका पूर्व अध्यक्ष खगेन्द्र खत्री सम्मानित हुनुभएको छ।
ट्रेड युनियन काँग्रेस, बागमती प्रदेश समितिद्वारा शनिबार आयोजित “Trade Union Senior Leaders and Bagmati Province Past Two Years Experience with Upcoming Plan” शीर्षक कार्यक्रमको अवसरमा पूर्व अध्यक्ष खगेन्द्र खत्रीलाई दोसल्ला ओडाएर सम्मान गरेको हाे।
कार्यक्रममा पूर्व अध्यक्ष खत्रीको नेतृत्वकालमा गरिएको योगदानको उच्च मूल्याङ्कन गर्दै प्रदेश समितिले औपचारिक रुपमा सम्मानपत्र प्रदान गरेको हो। कार्यक्रममा , नेपाल ट्रेड युनियन काँग्रेस काठमाडौँ जिल्ला समितिले समेत उहाँलाई बधाई तथा शुभकामना व्यक्त गरेको थियो ।
कार्यक्रमको सभापतित्व नेपाल ट्रेड युनियन कांग्रेस बागमती प्रदेश अध्यक्ष गणेश भट्टराईले गर्नु भएको थियो भने प्रमुख अतिथि संविधान सभा पूर्व सदस्य तथा ट्रेड युनियन काँग्रेसका पूर्व केन्द्रीय महासचिव अच्युतराज पाण्डे रहनु भएको थियो। कार्यक्रममा नेपाल ट्रेड युनियन कांग्रेसका विभिन्न संरचनाका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा बागमती प्रदेशका ट्रेड युनियन नेताहरूको उपस्थिति रहेको थियो भने उनीहरूले विगत दुई वर्षको अनुभव साटासाट गर्दै आगामी योजनाहरू प्रस्तुत गरेका थिए।
यो सम्मानले बागमती प्रदेशको श्रमिक आन्दोलनमा पुरानो नेतृत्वको योगदानको कदर गरेको सन्देश दिएको कार्यक्रम सहभागीहरूले बताए।