फिदिम, साउन ८ गते ।
नेकपा (एमाले) को जनबर्गीय संगठन राष्ट्रिय युवा संघका पदाधिकारी र सदस्यहरुले पाँचथरको याङवरक गाउँपालिका –२ र ३ लाई सिमाना छुट्याउने फलामे खोलामा काठ र बाँसको अस्थायी पुल निर्माण गरेका छन् ।
मध्यपहाडी राजमार्गमा पर्ने फलाम खोलामा निर्मित पक्की पुल २०८१ साल असार २ गतेको बाढीले बगाएको थियो । त्यसपछि पुलविहीन अवस्थामा रहेको उक्त स्थानमा खोला बढ्नासाथ पैदल यात्रीसँगै दुई पाङ्ग्रे र तीन पाङग्रे साधनलाई आउजाउ गर्न कठिनाइ भएसँगै युवा संघले काठ र बाँसको प्रयोग गरेर ९ मिटर लामो पुल निर्माण गरेको हो ।
नवनिर्मित पुलबाट पैदलयात्रीसँगै मोटरसाइकल र स्कुटरसहित तीन पाङ्ग्रे साधन सहजै आउजाउ गर्न थालेका छन् । राष्ट्रिय युवा संघ याङवरक गाउँपालिका कमिटीको आयोजना तथा वडा २ कमिटीको व्यवस्थापनमा यहाँ पुल बनाइएको हो ।
पुल निर्माणमा ७० जना युवाले श्रमदान गरेको संघका जिल्ला सहसचिव इल्लु मेन्याङबोले जानकारी दिनुभयो । श्रमदानमा याङवरक गाउँपालिकाका अध्यक्षसहित जनप्रतिनिधिको सहभागिता थियो ।