alliance khabar

बुधबार, साउन ०७, २०८२

काठमाडौँ, साउन ७ गते ।

समाजमा विभेद र अन्याय भइरहेको छ भने त्यसको प्रतिरोध गर्नुहोस् । विरोध गर्न सङ्गठित हुनुस् र अन्यायलाई परास्त गरी समाज परिवर्तन गर्नुस् । यसरी नै समाज र देश बदलिएका छन् । आधुनिक समाज निर्माण भएको छ : कार्ल माक्स ।

नेपाली कम्युनिस्ट आन्दोलनका पथप्रदर्शक, नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ पनि कार्ल माक्र्सका यिनै महान् विचारबाट प्रेरित भएर सर्वहारा वर्गको उत्थानका लागि सङ्घर्षमा होमिनुभयो । विसं १९८१ असार १५ गते जन्मिनुभएका नेता पुष्पलालले २०३५ साउन ७ गते नयाँ पुस्तालाई क्रान्तिको अभिभारा सुम्पिएर बिदा लिनुभयो ।

उहाँको स्मृति गर्दैगर्दा नेपालको समृद्धि र समुन्नतिको लक्ष्य हासिल गरी जनतालाई गरिबी, अशिक्षा, बेरोजगारसहितका समस्याबाट मुक्त गर्ने जिम्मेवारी राजनीतिक दलमाथि छ । नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले २०७२ को संविधान कार्यान्वयनको यो अवधिको समीक्षा गरेर राष्ट्रलाई समुन्नतिको मार्गमा अघि बढाउने दायित्व पूरा गर्न दलहरूलाई सुझाव दिनुभयो ।

डा. यादवले सङ्घीय लोकतान्त्रिक गणतन्त्र, सङ्घीयता, समावेशी प्रणालीलाई अझै बलियो बनाउँदै विगतमा नेताहरूले गरेका सङ्घर्ष, बलिदान र त्यागको सम्मान गर्नुपर्ने बताउनुभयो । जननेता पुष्पलालसँग कलकत्तामा भएको भेटको स्मरण गर्दै उहाँले भन्नुभयो, “प्रवासमा रहँदा बिपी कोइराला, कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह, पुष्पलाल श्रेष्ठसहितका नेतासँग भेट हुन्थ्यो । पुष्पलालजी बनारसबाट कलकत्ता आउनुहुन्थ्यो । ३० को दशकमै उहाँले किताब लेख्नुहुन्थ्यो । कलकत्ता नेसनल लाइब्रेरीमा बसेर वा हामीसँग आएर उहाँ घण्टौँ बस्नुहुन्थ्यो । बडा सहज मान्छे, बडा इमानदार मान्छे । उहाँसँगको सङ्गत मैले पाएको थिएँ । म आफूलाई सौभाग्यशाली ठान्छु ।”

इतिहासका अन्वेषक 

जननेता पुष्पलालसँगै काम गर्नुभएका अग्रज राजनीतिज्ञ लोककृष्ण भट्टराई र नेपाल कम्युनिस्ट पार्टी (एमाले) उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले पुष्पलाल श्रेष्ठलाई नेपालको समग्र परिवर्तनको मार्गचित्र कोर्ने नेताका रूपमा स्मरण गर्नुभयो । उपाध्यक्ष शाक्यले भन्नुभयो, “पुष्पलाल नेपाली कम्युनिस्ट आन्दोलनलाई आधुनिक शैलीमा विकास र विस्तार गर्ने हाम्रा मार्गदर्शन हुनुहुन्छ ।”

राजनीतिज्ञ भट्टराई नेता पुष्पलाललाई नेपाली राष्ट्रियता र लोकतन्त्रको प्रतीकका रूपमा सम्झिनुहुन्छ । उहाँले नेता पुष्पलालकै कार्यनीतिबाट नेपालमा लोकतन्त्र आएको बताउनुभयो । उहाँले भन्नुभयो, “त्योभन्दा पहिले नेपाली कांग्रेसले ‘हिट एन्ड रन’ आन्दोलन गरे पनि अरू कम्युनिस्ट पार्टीले सशस्त्र सङ्घर्षको लाइन लिए पनि अन्तिममा पुष्पलालकै लाइनमा आउनु प¥यो । २०४६ को परिवर्तन पनि उहाँकै लाइन अनुसार सफल भयो ।”

उहाँले नेता पुष्पलालको मार्गदर्शन अनुसार राष्ट्रिय सहमति गर्दै लोकतन्त्रको पक्षमा, जनआन्दोलनको बाटोमा सबै राजनीतिक दल आएपछि २०६२/६३ को बृहत् संयुक्त जनआन्दोलनबाट नेपालको निरङ्कुश राजतन्त्र परास्त भएर गणतन्त्र आएको बताउनुभयो । उहाँले पुष्पलाललाई दूरदृष्टि भएको देशभक्त तथा नेपाली सर्वहारा वर्ग, श्रमजीवी वर्ग, किसान, मजदुरको नेताका रूपमा सम्झिनुभयो । उहाँका अनुसार नेता पुष्पलाल नेपालको भौतिकवादी इतिहासको सिद्धहस्त लेखक हुनुहुन्थ्यो । उहाँले भारतमा जमिनदारी शोषणविरुद्ध प्रवासमा बस्दा पनि उत्तर प्रदेश र विहारका किसानका पक्षमा आन्दोलन भएको र त्यहाँका किसानले पनि पुष्पलाललाई नेता मानेको स्मरण गर्नुभयो । उहाँले भन्नुभयो, “भारतका प्रसिद्ध समाजवादी नेता डिपी त्रिपाठीको शब्दमा पुष्पलाल दक्षिण एसियाकै किसान र मजदुरका नेता हुनुहुन्थ्यो ।

अग्रज राजनीतिज्ञ भट्टराईले नेता पुष्पलालले कलकत्तामा रहँदा लेखेको नेपालको इतिहासको पाण्डुलिपि सुरक्षित रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पाण्डुलिपि हराएको छैन । झापा आन्दोलनका योद्धा नारद वाग्लेले जस्ताको तस्तै अङ्ग्रेजीमा प्रकाशित गर्नुभएको छ । त्यो पुष्पलाल प्रतिष्ठानमा जस्ताको तस्तै छ ।”

एमाले उपाध्यक्ष शाक्यले लाखौँ लाख झुपडीको एकता नेपालको राष्ट्रियता हो भन्ने जननेता पुष्पलालको भनाइलाई स्मरण गर्दै उहाँ दूरदर्शी र नीतिलाई प्रधान मानेर अघि बढेकाले कम्युनिस्ट आन्दोलन उचाइमा पुगेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल