काठमाडौँ, साउन १ गते ।
पञ्चायतकालको उत्तरार्धदेखि सक्रिय राजनीतिक जीवनमा रहँदासम्म पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता कृष्णप्रसाद भट्टराई (किसुनजी) प्रत्येक शनिबार चिया खाने र कार्यकर्ता भेट्ने ‘अड्डा’ नै थियो, बानेश्वरस्थित लक्ष्मी दिदीको चिया पसल ।
झिँगटीको छानो भएको सानो घरमा रहेको पसलमा किसुनजीसँगै धेरै नेता तथा कार्यकर्ता पुग्थे । कांग्रेसका शीर्ष नेताकै चिया अड्डा भएपछि लक्ष्मीको चिया पसल राजनीतिक विवेचना र विमर्शको चौतारी हुन्थ्यो । पञ्चायतको प्रतिबन्धितकालमा कांग्रेस नेता तथा कार्यकर्ता लक्ष्मी दिदीको चिया पसलमा भेट्ने भनेपछि अरू ठेगानको जरुरत पर्दैन थियो ।
प्रजातन्त्र आएपछि र स्वयम् प्रधानमन्त्री हुँदासमेत किसुनजी प्रत्येक शनिबार बानेश्वरमा कार्यकर्ताबाट घेरिनुहुन्थ्यो । सुखदुःखका कुरा हुन्थे । सक्रिय राजनीतिक जीवनबाट विश्राम लिएपछि किसुनजी ‘लक्ष्मी दिदी’ को पसलमा बिरलै जानुहुन्थ्यो । बानेश्वर आउजाउ गर्दा ‘सन्चो बिसन्चो’ सोध्नुहुन्थ्यो । प्रजातन्त्र पुनर्बहाली र कांग्रेस सत्तामा गएपछि किसुनजीसँगै पूर्वमन्त्री खुमबहादुर खड्का र राजेन्द्र खरेलसहित अरू नेताको आवतजावत कम भए पनि ‘लक्ष्मी दिदी’ का नामले परिचित लक्ष्मी थापामगरले आफ्नो व्यवसायलाई निरन्तरता दिइरहनुभयो ।
७९ वर्षीय लक्ष्मी दिदीले यी सबै स्मृतिलाई सँगालेर बुधबार नर्भिक अस्पतालमा अन्तिम श्वास लिनुभयो । छिमेकी रमेश खड्काका अनुसार मिजासिलो स्वभाव र सबैप्रति सद्भाव राख्ने लक्ष्मी दिदी बानेश्वरमा बजार विस्तार हुनुपूर्व नै त्यहीँ घर बनाएर बस्दै आउनुभएको थियो ।
उहाँले भन्नुभयो, “लक्ष्मी दिदी बानेश्वरका लागि एउटा पहिचान नै हुनुहुन्थ्यो । पैसा नहुनेले पनि लक्ष्मी दिदीको पसलमा पुगेपछि भोको फर्किनु परेन । उहाँ दयालु र करुणाकी खानी हुनुहुन्थ्यो । उहाँको निधनले हामी दुखित छौँ ।”
लक्ष्मी थापामगरका श्रीमान् देव थापामगरको निधन भइसकेको छ । उहाँहरूका एक छोरा र दुई छोरी छन् । थापामगरको पार्थिव शरीरलाई बुधबारै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।