काठमाडौँ, साउन १ गते ।
अत्यन्त जोखिम र बाध्यात्मक प्रयोगका रूपमा रहेको तुइनलाई विस्थापन गरी झोलुङ्गे पुल निर्माण गर्दै देशलाई तुइनमुक्त बनाउने प्रधानमन्त्री केपी शर्मा ओलीको अठोट पूरा हुने अवस्थामा पुगेको छ ।
१० वर्षअघि मुलुकभर १४६ वटा तुइन रहेकामा अहिले १४ वटा मात्र बाँकी छन् । १३२ स्थानका तुइन विस्थापन गरी झोलुङ्गे पुल निर्माण गरिएको छ । प्रधानमन्त्री ओलीले आफ्नो पहिलो कार्यकालमा सिंहदरबारमा २०७२ असोज २५ गते पदभार ग्रहण गर्ने क्रममा मुलुकमा रहेका तुइनलाई दुई वर्षभित्रमा झोलुङ्गे पुल विस्थापित गरिने सरकारको पहिलो निर्णयमा हस्ताक्षर गर्नुभएको थियो । यद्यपि विविध प्राविधिक कारणले तुइन विस्थापित हुन केही ढिलाइ भएको स्थानीय पूर्वाधार विकास विभाग (डोली) अन्तर्गतको झोलुङ्गे पुल शाखाका सिनियर डिभिजनल इन्जिनियर (सिडिई) स्मिता शर्माले बताउनुभयो ।
उहाँले भन्नुभयो, “१३२ वटा तुइनलाई झोलुङ्गे पुलले विस्थापित गरिसकेको छ । अहिले दार्चुलाको व्यास र लेकम गाउँपालिकास्थित महाकाली नदीमा १२ वटा तुइन छन् । त्यसै गरी कर्णाली नदीमाथि बर्दिया राष्ट्रिय निकुञ्जभित्र रहेको तुइन र महाकाली नदीमाथि पञ्चेश्वर घाटमा रहेको तुइन अहिलेसम्म विस्थापित हुन नसकेको हो ।” अहिले सरकारले कहीँ पनि तुइन निर्माणको काम नगरेको स्पष्ट पार्दै उहाँले स्थानीय तह र टोलछिमेक मिलेर पनि तुइन निर्माण गरी जोखिमयुक्त यात्रा गरेको बताउनुभयो ।
सस्पेन्सन ब्रिज डिभिजनका प्रवक्ता प्रेमनारायण बस्यालले नेपाल–भारतबिच सहमति हुन नसक्दा पञ्चेश्वर घाटको तुइन हटाएर मोटरेबल पुल वा झोलुङ्गे पुल निर्माण कार्य अगाडि बढ्न नसकेको बताउनुभयो । त्यहाँको तुइन विस्थापित गर्न आवश्यक प्रक्रिया अगाडि बढाइए पनि दुई मुलुकबिच सहमति नहुँदा कार्यक्रम नै रद्द गर्नुपर्ने उहाँको भनाइ छ । सहमतिका लागि परराष्ट्र मन्त्रालयमार्फत प्रक्रिया अगाडि बढाइए पनि अहिलेसम्म सहमति हुन सकेको छैन ।
त्यसै गरी अहिलेसम्म वातावरणीय प्रभाव मूल्याङ्कनको काम हुन नसक्दा कर्णाली नदीमाथि बर्दिया राष्ट्रिय निकुञ्जभित्र रहेको तुइन विस्थापित कार्य अगाडि बढ्न नसकेको उहाँको भनाइ छ । उहाँले अहिले सो ठाउँको वातावरणीय प्रभाव मूल्याङ्कनको काम भइरहेको जानकारी दिनुभयो । त्यहाँको तुइन विस्थापित गरी झोलुङ्गे पुल निर्माण गर्न ठेक्का सम्झौता भए पनि वातावरणीय प्रभाव मूल्याङ्कन नहुँदा काम अगाडि बढ्न नसकेको हो । अहिले देशभरिबाट पाँच हजार पाँच सयभन्दा बढी ठाउँमा झोलुङ्गे पुल बनाउन विभागमा प्रस्ताव आएको उहाँले जानकारी दिनुभयो ।
चौध सय झोलुङ्गे पुल
विसं २०२० देखि आर्थिक वर्ष २०८१/८२ को अन्तिमसम्म मुलुकभरि ११ हजार चार सय झोलुङ्गे पुल निर्माण भएको सस्पेन्सन ब्रिज डिभिजन कार्यालयका प्रवक्ता बस्यालले जानकारी दिनुभयो । सन् १९०३ मा श्री ३ चन्द्र शमशेरको पालादेखि नेपालमा झोलुङ्गे पुल निर्माणको थालनी भएको थियो । झोलुङ्गे पुल निर्माण भई स्थानीय ग्रामीण भेगका करिब एक करोड ६० लाख जनसङ्ख्या लाभान्वित भइसकेको सस्पेन्सन ब्रिज डिभिजनको दाबी छ ।
सरकारले आगामी आव २०८२/८३ को नीति तथा कार्यक्रममा तुइन विस्थापनलाई प्राथमिकता दिने उल्लेख गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सडक सुविधा नपुगेका दुर्गम क्षेत्रमा यातायातलाई सहज तुल्याउन तुइन विस्थापन गर्ने गरी झोलुङ्गे पुल निर्माणलाई निरन्तरता दिइने बताउनुभएको थियो ।