मकवानपुरगढी, असार ३० गते ।
बागमती प्रदेशमा हालसम्म ७६.४८ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । कृषि विकास निर्देशनालय बागमती प्रदेशका अनुसार आइतबारसम्ममा बागमती प्रदेशमा ७६.४८ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ जुन गत वर्षको यही अवधिको तुलनामा ६ दशमलव ५४ प्रतिशतले बढी हो ।
गत वर्ष यही अवधिसम्म ७० दशमलव ६ प्रतिशत रोपाइँ सक्किएको थियो । निर्देशनालयका निर्देशक सुधीर श्रेष्ठका अनुसार बागमतीका तीनवटा जिल्लामा धान रोपाइँ सक्किएको छ । अधिकांश किसान आकाशे पानीमा निर्भर रहने हुँदा यस वर्षको मनसुन सक्रिय रहेकाले प्रदेशका तीन जिल्लाको धान रोपाइँ गत वर्षको तुलनामा केही समय अगावै सक्किएको हो ।
बागमतीको काठमाडौँ, भक्तपुर र ललितपुरमा धान रोपाइँ सकिएको छ । यो सँगै काठमाडौँमा ५ हजार ९ सय २४ हेक्टर, ललितपुरमा ४ हजार १ सय ६३ हेक्टर, र भक्तपुरमा २ हजार ६ सय ९९ हेक्टरमा धान रोपिएको छ ।
तीन जिल्लामा रोपाइँ सक्किँदा मकवानपुरमा धान खेती हुने ७ हजार ६७ हेक्टर जमिनमध्ये ५९.३ प्रतिशत, चितवनमा २७ हजार २ सय ०७ हेक्टर ८०.३ प्रतिशत र नुवाकोटमा १६ हजार चारसय ९८ हेक्टरमध्ये ९६ प्रतिशत जमिनमा रोपाइँ सकिएको छ ।
हालसम्म सबैभन्दा कम रोपाइँ धादिङमा भएको छ । धादिङमा हालसम्म ४० प्रतिशत मात्र रोपाइँ भएको छ । धादिङमा ११ हजार १ सय ५९ हेक्टर जमिनमा धान रोप्ने गरिए पनि आइतबारसम्ममा चार हजार ४ सय ६५ हेक्टरको क्षेत्रफलमा रोपाईँ भएको छ ।
सिन्धुलीमा ११ हजार ४ सय ४५ हेक्टरमध्ये ६३.७ प्रतिशत, रामेछापमा ७ हजार ८ सय ५९ हेक्टर जमिनमध्ये ८३ प्रतिशत र सिन्धुपाल्चोकमा ८ हजार ७ सय ८२ हेक्टरमध्ये ६७.२ प्रतिशत जमिनमा रोपाइँ सकिएको निर्देशनालयले जनाएको छ ।
यस्तै, रसुवामा २ हजार ७ सय १८ हेक्टरमध्ये ३७.७० प्रतिशत, काभ्रेमा १० हजार २ सय १० हेक्टरमध्ये ७६.१४ प्रतिशत रोपाइँ भएको छ भने, दोलखामा २ हजार ८ सय १४ हेक्टरमध्ये ९२ प्रतिशत रोपाइँ सकिएको छ ।
असार महिना सकिन लाग्दा देशभर ५९ प्रतिशत धान रोपाइँ सकिएको छ । कृषि मन्त्रालयका अनुसार वर्ष २०८१ मा ५९ लाख ५५ हजार चारसय ७६ मेट्रिक टन धान उत्पादन भएको छ । जुन गत वर्षको तुलनामा चार दशमलव ०४ प्रतिशतले बढी हो ।