alliance khabar

आइतबार, आषाढ २२, २०८२

काठमाडौँ, असार २२ गते ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले नेपालका सहकारीले सहकारीको नीति, सिद्धान्त र मान्यता अनुसार नचलेकाले समस्या जटिल बनेको बताउनुभएको छ ।

शनिबार अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा राष्ट्रिय सहकारी महासङ्घ नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले सहकारीमा राखिने रकमको स्रोत र ऋण परिचालन अझै संशयपूर्ण रहेको बताउनुभयो ।

“सहकारी नीति र उद्देश्य अनुसार काम गरेका छन् कि छैनन् ? सहकारीमा ठुलो रकम कसरी आयो भन्नेबारे ख्याल गर्न पर्छ कि पर्दैन ?” उहाँले प्रश्न गर्नुभयो, “सहकारीले धितो नराखी ५०/६० करोड रुपियाँ एउटै व्यक्तिलाई दिने अधिकार कहाँ छ ?” सबैको माग अनुसार सहकारीका बेथिति रोक्न सहकारी नियमन प्राधिकरण बने पनि सुरुमै विरोध हुँदा प्राधिकरण बनेको तर चाहे अनुसार काम गर्न नसकेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “सहकारीलाई नियमन गर्न बनेको सहकारी नियमन प्राधिकरणले कसरी काम गर्छ, कस्तो विधि बनाउँछ भन्ने कुराको सुरुवात नहुँदै नियन्त्रण र खबरदारीको कुरा आउन थाल्यो । बिग्रेको कुरालाई नियन्त्रण नगर्ने हो भने त्यो ठिक ठाउँमा आउँदैन ।” मन्त्री अधिकारीले सहकारीमैत्री ऐन संशोधनका लागि आफू प्रतिबद्ध रहेको बताउँदै, सहकार्य र एकताको आवश्यकता औँल्याउनुभयो ।

सहकारी क्षेत्रमा देखिएका विद्यमान समस्या समाधानका लागि बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको नियमन गर्न सहकारी ऐन, २०७४ मा संशोधन गरी राष्ट्रिय सहकारी नियमन प्राधिकरणको स्थापना भएको हो ।

हरेक वर्ष जुलाई महिनाको पहिलो शनिबार मनाइने अन्तर्राष्ट्रिय सहकारी दिवसमा यस वर्ष ‘सहकारी : एक राम्रो विश्वको निर्माणका लागि समावेशी र दिगो समाधानका संवाहक’ भन्ने नाराका साथ मनाइएको हो । अन्तर्राष्ट्रिय सहकारी महासङ्घले सन् १९२३ देखि अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउन सुरु गरेको हो ।

संयुक्त राष्ट्र सङ्घले समेत समुदायको सामाजिक आर्थिक तथा सांस्कृतिक विकासमा सहकारीको महत्वपूर्ण योगदानको कदर गर्दै यसै दिनलाई सन् १९९५ देखि संयुक्त राष्ट्र सङ्घ अन्तर्राष्ट्रिय सहकारी दिवसका रूपमा मनाउन थालेको हो ।

कार्यक्रममा मन्त्रालयका सचिव केदारनाथ शर्मा, महासङ्घका सल्लाहकार केशव बडाल, दीपकप्रकाश बाँस्कोटा, खगराज अधिकारीलगायतले सहकारी व्यवस्थापनका विभिन्न आयाममा चर्चा गर्नुभएको थियो ।

आर्थिक सर्वेक्षण २०८१/८२ का अनुसार गत फागुनमा सहकारी संस्थाको सङ्ख्या ३२ हजार ९६५ रहेको छ । यस अवधिसम्म सेयर सदस्य सङ्ख्या एक करोड नौ लाख पाँच हजार १९२ र सेयर पुँजी एक खर्ब ४३ अर्ब २९ करोड रहेको छ । सहकारी क्षेत्रमा ११ खर्ब २५ अर्ब २८ करोड बचत परिचालन भई नौ खर्ब २३ अर्ब ४७ करोड कर्जा प्रवाह भएको छ । सर्वेक्षण अनुसार सहकारी क्षेत्रमा ९४ हजार व्यक्ति प्रत्यक्ष रोजगार छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल