काठमाडौँ, असार २२ गते ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपालमा हवाई सुरक्षासम्बन्धी चुनौती कायमै रहेकाले नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक र नेपाल हवाई सेवा प्राधिकरणसम्बन्धी विधेयक–२०८१ लाई अगाडि बढाउन ढिलाइ गर्न नहुने बताउनुभएको छ ।
प्रतिनिधि सभा अन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा उहाँले उल्लिखित विधेयक अन्तर्राष्ट्रिय निकायको सिफारिस र देशको आवश्यकताका आधारमा ल्याइएकाले नियामक र सेवाप्रदायक निकाय छुट्टिएर स्वायत्त रूपमा सञ्चालनमा ल्याए मात्र हवाई सुरक्षामा सुधार आउने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, “नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक र नेपाल हवाई सेवा प्राधिकरणसम्बन्धी विधेयक सरकारको तर्फबाट कुनै संस्था टुक्य्राउने उद्देश्यले नभई व्यवस्थित पार्ने दृष्टिकोणबाट आएको हो ।
प्राधिकरणलाई नियामक र सेवाप्रदायक निकायका रूपमा छुट्टाछुट्टै संरचना आवश्यक रहेकाले अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठनलगायतका निकायको सिफारिस र नेपालको आवश्यकताका आधारमा विधेयक ल्याइएको हो ।”
मन्त्री पाण्डेले विधेयक तयार पार्ने क्रममा सरोकारवाला निकाय र विज्ञहरूसँग पटकपटक छलफल र परामर्श भइसकेकाले अव संशोधनमाथि गहन छलफल गरेर निष्कर्षमा पुग्नु पर्नेमा जोड दिनुभयो । छलफलमा समितिका सभापति राजकिशोर यादवले विधेयक महत्वपूर्ण प्रकृतिको भएको उल्लेख गर्दै सांसदलाई गम्भीरतापूर्वक छलफलमा सहभागी भई मार्गप्रशस्त गर्न आग्रह गर्नुभयो ।