काठमाडौँ, असार २१ गते।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गिरिजाप्रसाद कोइराला नभएको भए नेपालमा सङ्घीय गणतन्त्र नआउने बताउनुभएको छ।
शनिबार काठमाडौँमा स्व. गिरिजाप्रसाद कोइरालाको जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो।
उहाँले कोइराला र आफूबिचमा झगडा पनि भएको र पार्टीबाट आफूलाई निकालेपछि नयाँ पार्टी खोलेको पनि बताउनुभयो। पार्टीबाट निकालेपछि र प्रधानमन्त्री खोसेपछि आफूले गिरिजा र तत्कालीन राजा ज्ञानेन्द्रलाई गिरिजा र ज्ञानेन्द्र एउटै हुन् भन्ने गरेको बताउनुभयो।
स्व. कोइराला लडाकु व्यक्ति भएको स्मरण गर्दै गिरिजाप्रसाद कोइराला नभएको भए गणतन्त्र ल्याउन कसैले पनि सोच्न नसक्ने स्थिति रहेको बताउनु भयो। गणतन्त्र ल्याउने पहिलो श्रेय गिरिजाप्रसाद कोइरालालाई जाने बताउनुभयो।
सभापति देउवाले भन्नुभयो, ‘स्व. गिरिजाबाबु र मेरो बिचमा झगडा पनि भएकै हो। सबैलाई थाहा छ। उहाँले पार्टीबाट निकालिदिनु भयो। मैले अर्को पार्टी खोलेँ फेरि। त्यसकारण अनि मैले एक पटक के भनेको थिएँ भने राजाले मलाई खोस्यो, अनि मैले गिरिजा र ज्ञानेन्द्र एउटै हुन् भनेको थिएँ। एउटाले पार्टीबाट निकाल्यो, अर्कोले प्रधानमन्त्रीबाट निकाल्यो भनेर त्यस्तो हाम्रो सम्बन्ध हो। राजाले शाही आयोग गठन गरेर मलाई जेल हाल्यो। थुनेपछि भेट्न आउनुभएको थियो, गिरिजाबाबु। पार्टीमा एक भएर काम गर्यौँ। गिरिजाबाबु धेरै लडाकु व्यक्ति हो। उहाँ नभएको भए आज गणतन्त्र आउने थिएन। त्यस्तो आँटिलो व्यक्ति हो। हिम्मतिलो व्यक्ति हो।’’
सभापति देउवाले नेपालको इतिहासमा गणतन्त्र स्थापनाका लागि हिम्मत गर्ने र त्यसका लागि लडेर जनमत सिर्जना गर्नसक्ने व्यक्ति गिरिजाप्रसाद कोइराला भएको बताउनुभयो। गिरिजाप्रसाद कोइराला नभएको भए सङ्घीयता पनि नआउने बताउनुभयो।