कञ्चनपुर, असार ६ गते ।
कञ्चनपुरको भीमदत्त नगरपालिकास्थित सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढेको छ । दरबन्दी मिलान गरिएपछि सो पालिकास्थित सामुदायिक विद्यालयहरूमा विद्यार्थी सङ्ख्या दोब्बरले वृद्धि भएको हो ।
स्थानीय तहको निर्वाचनपछि २०७८ साउनमा भीमदत्त नगरपालिकाले सामुदायिक विद्यालयहरूमा दरबन्दी मिलान गरेको थियो । सामुदायिक विद्यालयहरूको दरबन्दी मिलान, विद्यालय समायोजन र विद्यालय कक्षा कोठाको सिकाइ वातावरणमा परिवर्तन गरेसँगै यहाँका सामुदायिक विद्यालयहरूमा विद्यार्थीको आकर्षण बढेको पालिकाको शिक्षा शाखा प्रमुख हरिदत्त जोशीले बताउनुभयो ।
भीमदत्त नगरपालिकामा चार दर्जन बढी सामुदायिक विद्यालयहरू रहेका छन् । दरबन्दी मिलानपछि वडा नम्बर १९ स्थित लक्ष्मी माध्यमिक विद्यालय बागफाँटामा विद्यार्थी सङ्ख्या बढेका छन् । उक्त विद्यालयमा दरबन्दी मिलान पूर्व १८० विद्यार्थी रहेकोमा हाल साढे पाँच सय विद्यार्थी भर्ना भएका छन् । यस्तै, वडा नम्बर १० स्थित महेश्वर माध्यमिक विद्यालयमा दरबन्दी मिलान पूर्व ४५० विद्यार्थी सङ्ख्या रहेकोमा रहेको ६ सय विद्यार्थी अध्ययनरत छन् । वडा नम्बर ७ हल्दुखालमा रहेको जनसेवा माध्यमिक विद्यालयमा दरबन्दी मिलान पूर्व दुई सय विद्यार्थी रहेकोमा अहिले साढे तीन सय विद्यार्थी अध्ययनरत रहेको भीमदत्त नगरपालिकाको शिक्षा शाखाले जनाएको छ ।
यस्तै, वडा नम्बर ४ महेन्द्रनगरस्थित बैजनाथ माध्यमिक विद्यालयमा दरबन्दी मिलान पूर्व सात सय विद्यार्थी रहेकोमा अहिले १३ सय ५६ विद्यार्थी अध्ययनरत रहेका छन् । वडा नम्बर ५ स्थित सत्यदेवी माध्यमिक विद्यालय दरबन्दी मिलान पूर्व दुई सय विद्यार्थी रहेकोमा अहिले चार सय नौ जना विद्यार्थी अध्ययनरत रहेका भीमदत्त नगरपालिकाको शिक्षा शाखाले जनाएको छ ।
यस्तै, बैजनाथ सिद्दनाथ माध्यमिक विद्यालय, महेन्द्र माध्यमिक विद्यालय, निङ्लाशैनी माध्यमिक विद्यालय, पूर्णा मावि, शान्ति निकेतन माध्यमिक विद्यालय, महेन्द्रनगर माध्यामिक विद्यालय, सिद्दनाथ अमर माध्यमिक विद्यालय गड्डाचौकी, सिद्दनाथ माध्यमिक विद्यालय, त्रिभुवन माध्यमिक विद्यालयमा पनि दरबन्दी मिलानपछि दोब्बरको सङ्ख्यामा विद्यार्थी भर्ना भएका भीमदत्त नगरपालिकाका शिक्षा शाखा प्रमुख जोशीले बताउनुभयो ।
तर केही सामुदायिक विद्यालयहरूमा भने विद्यार्थी सङ्ख्या घटेको पनि पाइएको उहाँले बताउनुभयो । ती सामुदायिक विद्यालयहरूले प्रविधिको प्रयोग गर्नुपर्ने, पर्याप्त शैक्षिक सामग्री र शौचालय सरसफाइमा ध्यान दिन जरुरी रहेको उहाँले बताउनुभयो ।
‘‘भीमदत्तमा दरबन्दी मिलानपछि सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या बढेको पाएका छौँ,’’ उहाँले भन्नुभयो, ‘‘कतिपय विद्यालयहरूले प्रविधिको प्रयोग तथा सरसफाइमा ध्यान नदिएको पाइएको छ, जुन सुधार हुन जरुरी छ ।’’