टीकापुर, असार ३ गते ।
सुदूरपश्चिमस्थित भजनी नगरपालिकाको आर्थिक वर्ष २०८०/८१ को पूरै आन्तरिक आय खाना, खाजा, पदाधिकारीको सुविधा र बैठक भत्तामा सकिएको पाइएको छ । कैलालीको पुरानो सदरमुकाम भनेर चिनिने भजनी नगरपालिकाले एक वर्षमा एक करोड ९४ लाख ३६ हजार रुपियाँ आन्तरिक आम्दानी गरेकामा ५० लाख ७३ हजार रुपियाँ खाना र खाजामा खर्च गरेको छ । २१ लाख ८१ हजार रुपियाँ कर्मचारीको बैठक भत्तामा र एक करोड १४ लाख रुपियाँ पदाधिकारीको सुविधा र बैठक भत्तामा सकिएको हो ।
यस्तै भ्रमण खर्चमा ४३ लाख ५५ हजार रुपियाँ खर्च गरेको देखिए पनि भ्रमणका प्रतिवेदन भने केही छैनन् । महालेखा परीक्षकको प्रतिवेदन २०८२ अनुसार नगरपालिकाले इन्धनमा मात्रै ५१ लाख ५२ हजार रुपियाँ खर्च गरेको छ । नगरपालिकाले दुई मिनेटको डकुमेन्ट्रीको लागत ५० हजार रुपियाँ दिने नियम बनाएको छ । केही व्यक्तिले यसलाई अवसरका रूपमा लिएका छन् । दुई मिनेटको ५० हजार रुपियाँ मिल्ने भए पनि जाल्पा मिडिया नामको युट्युबले नियम मिचेर ९५ हजार रुपियाँ भुक्तानी लिएको छ । जाल्पा मिडिया नामको युट्युबले अघिल्लो वर्षको प्रतिवेदनमा एउटै कामको दुई पटक भुक्तानी लिएको, शुभकामनाका नाममा ठुलो रकम भुक्तानी लिएको भनी बेरुजु देखाएको छ ।
यसै गरी लागुऔषधविरुद्धको वृत्तचित्र निर्माण गरिएको भनी ९३ हजार नौ सय रुपियाँको बिल पेस गरी भुक्तानी लिएको आर्जन इन्टरटेनमेन्ट एन्ड एडभरटाइजिङ र नगर गतिविधि वृत्तचित्र बनाएको भनी एक लाख ५९ हजार ९८३ रुपियाँको बिल पेस गरी भुक्तानी लिएका पे्रस क्लब नेपालले बनाएका वृत्तचित्र कतै नभेटिएको प्रतिवेदनमा उल्लेख छ । सुशासनमा ०.४१ प्रतिशत खर्च गरेको भजनी नगरपालिकाले नागरिकलाई सूचना दिने नाममा गरेको खर्चमा पनि भ्रष्टाचार देखिएको छ । बिनाबिल भर्पाई मधेश प्रदेशको एक कर्मचारी समितिलाई दिएको ५० हजार रुपियाँ पनि बेरुजु देखिएको छ । पछिल्लो समय नगरपालिकाले कार्यपालिकाका बैठक पनि लुकाउन थालेको छ । नगरपालिकाको वेबसाइटमा राख्ने गरेकोमा राख्न छोडेको छ । नगरप्रमुख केवल चौधरीले निर्णय सार्वजनिक गर्न पटक पटकभन्दा पनि कर्मचारीले नहालेको बताउनुभयो ।
नगरपालिकाले तीन करोड ७७ लाख ५६ हजार रुपियाँ अबन्डा राखेर कार्यपालिकाबाटै खर्च गरेको छ भने एक करोड ६६ लाख ६० हजार रुपियाँ बराबरको खरिद कार्य बिनाप्रतिस्पर्धा गरिएको छ । छ करोड ८५ लाख ७६ हजार रुपियाँ रकमान्तर गरी खर्च गरेको छ । नगरपालिकाको बेरुजु चार करोड ७४ लाख थपिएर ३७ करोड ४० लाख रुपियाँ पुगेको छ ।
अघिल्लो वर्ष खाना, खाजामा ४४ लाख खर्च हुँदा बेइज्जत भएको भन्नुभएका नगरप्रमुख केवल चौधरी भन्नुहुन्छ, “कर्मचारीदेखि पत्रकारसम्म सबैले खाने रहेछन् अनि खर्च त बढ्ने नै भयो ।”
नेपाली कांग्रेसका नेता नवराज मिश्र सुशासनका लागि पटक पटक सुझाव दिए पनि लागु हुन छाडेको बताउनुहुन्छ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का नगर सचिव राजबहादुर बुढा भन्नुहुन्छ, “सुझाव दियो भने कामै गर्न दिँदैनन् भन्छन् । अनुत्पादक खर्च बढ्दै गएको देखियो । दिनमा सात वटा बैठक बस्छन् भन्ने सुनेको छु, बजेट उत्पादनमूलक क्षेत्रमा खर्च हुनु पर्छ ।”