काठमाडौँ, जेठ २२ गते ।
कुनै समय हलमा दर्शक खोज्नुपर्ने अवस्थाबाट गुज्रिएको नेपाली चलचित्र क्षेत्र पछिल्लो समयमा लोकप्रियताको उकालोतर्फ बढ्दै गएको देखिन्छ । चलचित्रको उल्लेखनीय व्यापार र हलमा दर्शकको उत्साहजनक उपस्थितिले यो लोकप्रियता अझै लम्बिने सम्भावना रहेको चलचित्रकर्मी बताउँछन ।
मौलिक कथावस्तु र नेपालीपन बोकेका चलचित्र यतिबेला दर्शकको पहिलो रोजाइँको चलचित्र बनेका छन् । गत वर्ष मौलिक विषयवस्तुमा बनाइएको ‘पूर्णबहादुरको सारङ्गी’ बाट पाएको सफलता यस वर्ष पनि निरन्तरता पाउने देखिएको छ । यो वर्षको सुरुवाती महिनामा प्रदर्शनमा आएका चलचित्रले बक्स अफिसमा करोड रुपियाँभन्दा बढी कमाइ गरेर सकारात्मक सुरुवात गरेका छन । वैशाख र जेठमा प्रदर्शन आएका चलचित्र ‘भुठान’, ‘खेल’, ‘झिल्को’, ‘उनको स्वेटर’, ‘के घर के डेरा : घर नं २’ र ‘नरसिंहा अवतार’ ले रामै्र चर्चा बटुलेका छन् ।
यीमध्ये ‘उनको स्वेटर’ १० करोड क्लबमा प्रवेश गरेको छ भने अन्य चलचित्रले ठिकठाक व्यापार गरेका छन् । दिवाकर भट्टराई निर्देशित चलचित्र ‘नरसिंहा अवतार’ ले प्रदर्शनको पहिलो हप्ता खासै व्यापार नगरे पनि ‘माउथ पब्लिसिटी’ र महानायक राजेश हमालको क्रेजका कारण अर्को हप्तादेखि राम्रो व्यापार गरेको छ । चलचित्र विकास बोर्डको तथ्याङ्क अनुसार वैशाखदेखि हालसम्म प्रदर्शन भएका आठ वटा नेपाली चलचित्रबाट १२ करोड ७६ लाख रुपियाँ आम्दानी भएको छ । यसै गरी प्रदर्शनमा आएका १२ वटा विदेशी चलचित्रबाट सात करोड ८८ लाख रुपियाँ आम्दानी भएको छ ।
बोर्डका सदस्य तथा प्रवक्ता सन्तोषबाबु लोहनीका अनुसार वैशाख र जेठ महिना नेपाली चलचित्रका लागि फलदायी बनेको छ । धेरै चलचित्रको बक्स अफिस रिपोर्ट सोचेभन्दा राम्रो आएको छ । उहाँका अनुसार दसैँपछि नेपाली चलचित्र ओरोलो लाग्नु परेको छैन । अहिले दर्शकमा नेपाली चलचित्रप्रति आकर्षण बढेको देखिन्छ । “पहिले भारतीय चलचित्र रुचाउने दर्शकले अहिले नेपाली चलचित्रको वाहवाही गर्न थालेका छन्”, उहाँले भन्नुभयो । अघिल्लो वर्षको तुलनामा यस पटक हलमा दर्शक धेरै देखिन थालेको उहाँको भनाइ छ । ‘उनको स्वेटर’ निर्देशक नवीन चौहान भन्नुहुन्छ, “चलचित्र चल्नु एउटा मानक जस्तो हुँदो रहेछ, त्यसैले पनि मेरो लागि धेरै खुसीको कुरा हो । पहिलो पटक यसरी चलचित्रले चर्चा पाउँछु भन्ने खासै नसोचेको उहाँको भनाइ थियो ।
चलचित्र ‘नरसिंहा अवतार’ का निर्देशक दिवाकर भट्टराईका अनुसार बक्स अफिसमा चलचित्रले पहिलो सात दिनमा दुई करोड चार लाख रुपियाँको व्यापार गरेको छ । शुक्रबारबाट दोस्रो सातामा प्रदर्शन भइरहेको चलचित्रले अहिले पनि अधिकांश चलचित्रघरमा राम्रो व्यापार गरिरहेको उहाँले बताउनुभयो । उहाँका अनुसार विदेशमा पनि चलचित्रले राम्रो व्यापार गरेको छ । चलचित्र अहिले कतार, दुबई, बहराइन, मलेसियामा प्रदर्शन भइरहेको छ ।
यसै गरी जेठमा जन्तेबाख्रो, महाभोज, भाइरल गोर्खे, प्रदर्शनको तयारीमा छन् । प्रदर्शनपूर्व नै चर्चामा आएका तीन वटै चलचित्रले उत्साहजनक व्यापार गर्नेमा चलचित्रकर्मीहरू विश्वस्त छन् ।