तनहुँ, जेठ २० गते ।
जातीय भेदभाव तथा छुवाछुत उन्मुलन दिवसको अवसरमा तनहुँको एक गाउँपालिकाले सार्वजानिक बिदा दिएको छ । म्याग्दे पालिकाले बुधबार सार्वजानिक बिदा दिएको हो । गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले पालिकाअन्तर्गतका सबै कार्यालय, सामुदायिक तथा निजी शैक्षिक संस्था, स्वास्थ्य संस्था (अत्यावश्यक) र वित्तीय संस्थाहरुमा स्थानीय बिदा दिने निर्णय गरिएको जानकारी दिनुभयो ।
अध्यक्ष श्रेष्ठद्वारा जारी सूचनामा सबै समुदायहरूले जातीय विभेद हटाउने र सामाजिक सद्भाव कायम गर्ने कार्यक्रमहरू सञ्चालन गरी सामाजिक एकताको सन्देश दिन बिदा दिइएको उल्लेख छ ।
संयुक्त राजनीतिक दलित संघर्ष समितिले बिदा दिनुपर्ने माग राखेको थियो । समितिका अध्यक्ष डोबाटे विश्कर्माले संयुक्त दलित संघर्ष समितिले तनहुँको सदरमुकाम दमौलीमा सचेतना सभाको आयोजना गर्ने निर्णय गरेको बताउनुभयो । २०६३ साल जेठ २१ गते सरकारले नेपाललाई जातीय छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको थियो । त्यसै दिनको सम्झनामा हरेक वर्ष जेठ २१ गतेलाई जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस मनाउने गरिन्छ ।