काठमाडौँ, जेठ १४ गते ।
अमेरिकाको मेरिल्यान्डमा प्रत्येक वर्ष आयोजना हुँदै आएको नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२५ प्रदर्शन हुने चलचित्रको सूची सार्वजनिक गरिएको छ । गत वर्ष बर्लिन फिल्म फेस्टिभलको मुख्य प्रतिस्पर्धामा रहेको मीनबहादुर भामद्वारा निर्देशित ‘शाम्बाला’ गत वर्षकै भेनिस फिल्म फेस्टिभलमा प्रिमियर भएको दीपक रौनियारद्वारा निर्देशित ‘पूजा सर (राजागञ्ज)’ र अमेरिकाको नेपाली डायस्पोरामा बनेको विनोद पौडेलद्वारा निर्देशित ‘भुठान : द वल्र्ड हापिस्ट म्यान’ लगायतका चलचित्र महोत्सवमा प्रदर्शन हुने छन् ।
जुन २६ देखि २९ सम्म हुने महोत्सवमा नेपाल, अमेरिका, इरान, मेक्सिको, साउदीलगायत १५ देशका फिचर फिल्म, वृत्तचित्र, छोटा चलचित्र र एनिमेसन गरी ३१ चलचित्र प्रदर्शन हुने छन् । चार दिनसम्म चल्ने महोत्सवका चलिचत्र मेरिल्यान्डका एएफआई सिल्भर थिएटरका साथै ग्रिनबेल्ट सिनेमा थिएटरमा समेत प्रदर्शन हुने जनाइएको छ ।