alliance khabar

शुक्रबार, जेठ ०९, २०८२

सुर्खेत, जेठ ९ गते । 

हुम्लाको ताँजाकोट गाउँपालिकामा दुई जना औलोका र एक जना कालाजारका बिरामी भेटिएका छन् । स्वास्थ्य सेवा कार्यालय हुम्लाले हरेक वर्ष जिल्लाभर औलो र कालाजारका बिरामीको परीक्षण गर्ने क्रममा जिल्लाको तल्लो क्षेत्र ताँजाकोटमा दुई जना औलोेका र एक जना कालाजारका बिरामी भेटिएको कार्यालयका कीटजन्य रोगसम्बन्धी व्यक्ति रवीन्द्र देवकोटाले बताउनुभयो ।

औलोका दुई जनामध्ये वडा नं. २ का एक जना बाहिरबाटै सरेर आएका (आयातित) र वडा नं. ५ का एक जनाको त्यही लामखुट्टेले टोक्दा रोग देखा परेको छ भने सोही गाउँपालिकामा वडा नं. २ मा एक जना कालाजारका बिरामी भेटिएको उहाँले जानकारी दिनुभयो ।

केही दिनअघिको परीक्षणमा औलो र कालाजारका तीन जना बिरामी भेटिएपछि गाउँपालिकाको सोमबारको बैठकले जेठ ७ गते बुधबारदेखि ताँजाकोट गाउँपालिका–२, ३ र ४ का पूरै टोलबस्ती तथा वडा नं. ५ को सात्ती डोप्का क्षेत्रमा औलो तथा कालाजार रोग नियन्त्रणका लागि विषादी छर्ने निर्णय गरेको छ ।

कर्णालीमा बर्सेनि औलोको जोखिम बढिरहेको छ । यहाँका हिमाली जिल्ला पनि औलोको जोखिममा छन् । विगतमा औलोको समस्या नरहेको यहाँको हिमाली जिल्ला हुम्ला पनि अहिले औलोको उच्च जोखिममा परेको छ । यातायात सेवासँग जोडिँदा लामखुट्टेको पहुँच विस्तारसँगै बढ्दो तापक्रमका कारण कर्णालीको हिमाली जिल्ला हुम्ला पनि औलोको उच्च जोखिममा परेको हो । कर्णाली प्रदेशका १० जिल्लामध्ये हुम्ला औलो रोगको उच्च जोखिममा रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका अनुसार हुम्लासँगै कालीकोट, दैलेख र सुर्खेत औलोको उच्च जोखिममा छन् । प्रदेश स्वास्थ्य निर्देशनालयका भेक्टर कन्ट्रोल सुपरभाइजर श्यामलाल आचार्यले कर्णालीका हिमाली जिल्लामा पनि औलोको जोखिम बढिरहेको बताउनुभयो । पछिल्लो समय हिमाली जिल्लासमेत औलोको उच्च जोखिममा रहेको उहाँको भनाइ छ । चालु आर्थिक वर्षमा कर्णाली प्रदेशभरिमा ३८ जना औलोका बिरामी पहिचान भएका छन् ।

निर्देशनालयका अनुसार चालु आवमा कर्णाली प्रदेशका सुर्खेतमा २९ जना, दैलेखमा चार जना, कालीकोटमा तीन जना र हुम्लामा दुई जना औलोका बिरामी फेला परेका हुन् । जसमध्ये ३७ जना आयातित औलोका बिरामी भेटिएका छन् । एक जना स्थानीय नागरिकमा पनि औलोको सङ्क्रमण देखिएको छ ।

हुम्लाको ताँजाकोट गाउँपालिका, दैलेखको आठबिस नगरपालिका, चामुण्डा बिन्द्रासैनी नगरपालिका, दुल्लु नगरपालिका, ठाटीकाँध गाउँपालिका, कालीकोटको खाँडाचक्र नगरपालिका, सुर्खेतका वराहताल गाउँपालिका, वीरेन्द्रनगर नगरपालिका, चौकुने गाउँपालिका, गुर्भाकोट नगरपालिका, लेकबेँसी नगरपालिका, पञ्चपुरी नगरपालिका र सिम्ता गाउँपालिकामा औलोका बिरामी फेला गरेका छन् ।

यस्तै यहाँका ७९ स्थानीय तहका ७१८ वडामध्ये तीन वटा वडा औलोरोगको उच्च जोखिममा छन् । सात वटा वडामा मध्यम जोखिम रहेको, ४१० वटा वडामा निम्न जोखिम रहेको र २९८ वडामा जोखिम नरहेको निर्देशनालयले जनाएको छ । उच्च जोखिममा रहेका वडामध्ये हुम्लाको ताजाकोट गाउँपालिका–२, ३ र ४ हुन् । न्यून जोखिममा वीरेन्द्रनगर नगरपालिका–२, गुर्भाकोट नगरपालिका–८, मुगुको खत्याड गाउँपालिका–८, सोरु गाउँपालिका–४ र ५, हुम्ला जिल्लाको अदानचुली गाउँपालिका–३ र ताँजाकोट गाउँपालिका–५ छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल