alliance khabar

मंगलबार, बैशाख २३, २०८२

माननीय मन्त्री,

राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त तथा आयुक्तहरू,

उपस्थित महिला तथा सज्जनवृन्द !

नेपाली जनताले पटक पटक गर्दै आएका ऐतिहासिक जनआन्दोलन, सङ्घर्ष, त्याग र बलिदानका कारण प्राप्त मौलिक हकमध्ये अति महìवपूर्ण मानिएको सूचनाको हकको प्रवर्धन र संवर्धनका लागि स्थापित राष्ट्रिय सूचना आयोगको १८ औँ स्थापना दिवसका अवसरमा म  आयोग परिवार र सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइलाई हार्दिक शुभकामना व्यक्त गर्दछु ।

राज्यको लगानीमा जनताको निगरानी भएन भने मुलुकमा कुशासन मौलाउँछ, विधिको शासन अवरुद्ध हुन्छ र सरकार तथा सार्वजनिक निकायमा स्वेच्छाचारिता बढ्छ । लोकतन्त्रमा नागरिकलाई सशक्त बनाउन, राज्यको लगानीमाथि उनीहरूको निगरानी बढाउन र शासन प्रणालीलाई पारदर्शी बनाउन विश्वव्यापी रूपमा सूचनाको हकको आन्दोलनले व्यापकता पाउँदै आएको छ । यही सन्दर्भमा हाम्रो संविधानको धारा २७ ले सूचनाको हकलाई मौलिक हकका रूपमा व्यवस्था गरेको हो । सूचनाको हकलाई संविधानमा नै मौलिक हकका रूपमा व्यवस्था गर्ने दक्षिण एसियाको पहिलो देश हो, नेपाल ।

नागरिकको करबाट उठेको सार्वजनिक कोषबाट गरिने खर्च र सरकारको काम, कारबाही नागरिकप्रति जवाफदेही हुनै पर्छ भन्ने सिद्धान्तको जगमा सूचनामा नागरिकको पहुँचको अधिकारलाई आधुनिक लोकतान्त्रिक राज्यले संरक्षण गरेका हुन् ।

लोकतन्त्रको लाभ नागरिकसम्म पु¥याउन उनीहरूको सशक्तीकरण आवश्यक हुन्छ । जबसम्म सरकार र सार्वजनिक निकायको सूचनामा नागरिकको पहुँच सुनिश्चित हुँदैन, तबसम्म लोकतन्त्रको संस्थागत विकास सम्भव हुन्न । पारदर्शिता, जवाफदेहिता र सहभागिता लोकतन्त्रका आधारभूत आवश्यकता हुन् । सार्वजनिक सूचनामा नागरिकको पहुँचले बेथिति र अनियमितता नियन्त्रण, स्वेच्छाचारिता र दण्डहीनताको अन्त्य, भ्रष्टाचारको रोकथाम र नियन्त्रण, सुशासनको प्रत्याभूति, विधिको शासन सुनिश्चित एवं मानव अधिकारको संरक्षणमा सहयोग पुग्छ । त्यही भएर भन्ने गरिन्छ, सूचना नै लोकतन्त्रको प्राणवायु हो ।

सूचनाको हकले सरकार र सार्वजनिक निकायको काम, कारबाहीप्रति नागरिकको परीक्षण र मूल्याङ्कन गराउँछ । यसबाट नै सरकारप्रतिको विश्वास अभिवृद्धि हुने हो । यसकारण पनि सार्वजनिक निकायका काम, कारबाहीको परीक्षण र निगरानी गर्न सूचनाको हकको प्रभावकारी कार्यान्वयन अत्यावश्यक छ । सुसूचित समाजले मात्रै लोकतन्त्रलाई क्रियाशील गराउँछ भन्ने हामी सबैले मनन गरौँ ।

लोकतन्त्रको यही मूल मर्म र संविधानको व्यवस्था अनुसार सूचनाको हकसम्बन्धी ऐन–२०६४ जारी भई अहिले कार्यान्वयनमा आएको १९ वर्ष भएको छ । सूचनाको हकको प्रयोगमा आकर्षण बढ्दै जानु हाम्रो लोकतान्त्रिक अभ्यासको सुखद् पक्ष हो तर पनि संविधान र कानुनले राखेको पवित्र उद्देश्य पूरा हुने अवस्था अझै बनिसकेको छैन । अझै पनि कैयौँ नेपाली जनता आफ्नो  मौलिक हकबारे अनभिज्ञ छन् । यसका लागि सूचनाको हकको प्रभावकारी कार्यान्वयन जरुरी छ । यसमा आपूर्ति पक्ष जति संवेदशनशील हुन आवश्यक छ, त्योभन्दा बढी जनता आफैँ आफ्नो अधिकार प्राप्त गर्न तयार देखिऊन् भनेर उनीहरूमा जागरण ल्याउन अत्यन्त आवश्यक छ भन्ने म ठान्दछु ।

सूचनाको हकको नियामक निकायका रूपमा स्थापित सीमित स्रोतसाधन भएको आयोगबाट नागरिकमा आफ्नो अधिकारको प्रयोगमा जागरण ल्याउने तथा कानुनको प्रभावकारी कार्यान्वयनको सबै जिम्मेवारी हो भन्ने ठान्नु उपयुक्त हुँदैन । यसका लागि सरकारको गम्भीर ध्यान जान जरुरी छ ।

स्वाभाविक रूपमा सबै सूचना सार्वजनिक हुँदैनन् । कानुनमा व्यवस्था भएका अति संवेदनशील पाँच प्रकारका सूचना संरक्षण गरेर राखिने विषय पनि जनताकै हितका लागि हुन् भन्ने पनि हामीले भुल्नुहुन्न ।

अन्त्यमा पुरस्कृत अभियन्ता, सूचना अधिकारी र आयोगका कर्मचारीलाई हार्दिक बधाई दिँदै लोकतन्त्रको संस्थागत विकास, सुशासन प्रवर्धन तथा विकासनिर्माणमा जनताको अर्थपूर्ण सहभागिताका लागि उपयुक्त औजार मानिएको सूचनाको हक लोकतन्त्रको प्रगतिशील प्रावधानका रूपमा देखाउने विषय मात्र नबनोस् र यसको पूर्ण कार्यान्वयन गर्न सकियोस् भन्ने कामना गर्दछु ।

जय नेपाल !

(राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय सूचना आयोगको १८ औँ स्थापना दिवसमा सोमबार गर्नुभएको सम्बोधनको पूर्ण पाठ)  

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल