alliance khabar

मंगलबार, माघ ०१, २०८१

धरान (सुनसरी),  माघ १ गते : धनु राशिबाट सूर्य मकर राशिमा प्रवेश गर्ने दिन आज पवित्र धामका रुपमा परिचित बराहक्षेत्र, देवघाट, रिडी, त्रिवेणी, गोदावरी धाम, कालीगण्डकीलगायत नदीमा मकर सङ्क्रान्ति स्नान गर्ने भक्तजनको भीड लागेको छ ।

आज उत्तरायण सुरु हुने दिन भएकाले स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्यदायक मानिने भएकाले बिहानदेखि यी क्षेत्रमा भक्तजनको भीड लागेको हो । सुनसरीको प्रसिद्ध तीर्थस्थल वराहक्षेत्र–१ चतराधामस्थित वराहक्षेत्र मन्दिरमा भक्तजनको घुइँचो लागेको छ ।

सोमबार साँझदेखि नै धामी–झाँक्रीसहित ठूलो सङ्ख्यामा भक्तजन स्नान गर्न र पूजापाठ गर्न आएको बराहक्षेत्र मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष भक्तबहादुर श्रेष्ठले जानकारी दिनुभयो । यहाँ पूजा गर्न र मकर स्नान गर्न मुलुकका विभिन्न स्थानसँगै भारतको विहार, पश्चिम बङ्गाल, सिक्किमसँगै भुटानबाट समेत हिन्दू धर्मावलम्बीहरु आउने गरेको गुठी व्यवस्थापन समितिका कोषाध्यक्ष रवि श्रेष्ठले बताउनुभयो ।

यसैबीच कालीगण्डकीअन्तर्गत पर्वतको प्रसिद्ध धार्मिकस्थल मोदीवेणी, सेतीवेणी, पुर्तिघाट, जैमिनीघाट, नयाँपुललगायत स्थानमा बिहानदेखि भक्तजनको भीड लागेको छ । बिहानै कालीगण्डकीमा स्नान गरी तिल दान गर्नाले सुन दान गरे सरहको पुण्य प्राप्त हुने धार्मिक विश्वास छ ।

पर्वत सदरमुकाम कुश्माबजार, फलेवास, शालिग्रामलगायतका स्थानबाट भक्तजन स्नान गर्न आइपुगेका हुन् । पर्वत, स्याङ्जा र गुल्मीको सङ्गमस्थल सेतीवेणीमा आज विशेष मेला लागेको छ । यहाँ विश्वकै ठूलो शालिग्राम शिलाको दर्शन गर्न र स्नान गर्न भक्तजनको भीड लागेको स्थानीय तिलक पराजुलीले जानकारी दिनुभयो ।

त्यसैगरी, पवित्र देवभूमि—वेदभूमिको प्रवेशद्वार मानिने कैलालीको गोदावरीधाममा ‘बाह्रराशि दर्शन मकर मेला’ प्रारम्भ भएको छ । बाह्रराशि दर्शन मेला हुने भएपछि गोदावरीधाम क्षेत्रमा भक्तजनहरुको चहलपहल बढेको छ । गोदावरी नगरपालिकाले भक्तजनका लागि बस सेवा उपलब्ध गराएको छ ।

आजदेखि यही माघ १२ गतेसम्म १२ दिवसीय बाह्रराशि दर्शन मकर मेला सुरु भएको आयोजक गोदावरीधाम विकास समितिका अध्यक्ष पदमराज जोशीले बताउनुभयो । सुदूरपश्चिम प्रदेशका सातवटा पहाडी जिल्लाको मुख्य प्रवेशद्वार, चुरे पहाडको फेदमा रहेको यो क्षेत्रलाई सप्त गोदावरीमध्येको प्राचीन गोदावरीका रुपमा लिने गरिन्छ । यहाँ पवित्र गोदावरी नदी, मठमन्दिर, धर्मशाला र बौद्ध गुम्बा छन् । यो क्षेत्रमा भगवान् श्रीकृष्णले स्नान गरेको स्कन्दपुराणमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल