alliance khabar

आइतबार, पुष २१, २०८१

महेन्द्रनगर (धनुषा), पुस २१ गते : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाममा रामजानकी अन्तर्राष्ट्रिय बहुउद्देश्यीय रङ्गशाला बनाउन विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार भइरहेको बताउनुभएको छ ।

आजदेखि जनकपुरधाममा सुरु भएको ‘जय ट्रफी मेन्स एलाइट कप’को उद्घाटन कार्यक्रममा मुख्यमन्त्री सिंहले सोमबार राष्ट्रिय खेलकुद परिषद् र गुठी संस्थानसँग प्रदेश सरकारले खेल मैदानका लागि सम्झौता गर्ने बताउनुभयो । रङ्गशाला बनाउने स्थानको जमिन सरोकार भएका निकायसँगको सहमतिमा मालपोतबाट पास हुनेवित्तिकै प्रदेशस्तरीय मन्त्रिपरिषदबाट निर्णय गरेर प्रतिवेदन सङ्घीय सरकारसमक्ष पेस गरिने उहाँले उल्लेख गर्नुभयो ।

करिब सात वर्षअघि भारत सरकारका तर्फबाट प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरधामको विकासका लागि रु एक अर्ब उपलब्ध गराउने घोषणा गर्नुभएको रकम हालसम्म खर्च नभएकाले उक्त रकम रङ्गशाला निर्माणमा लगाउने मुख्यमन्त्री सिंहले जानकारी दिनुभयो । बाँकी रकम प्रदेश सरकारले लगानी गर्ने उहाँले बताउनुभयो ।

भारत सरकारले प्रदान गर्ने भनिएको रकम खर्च गर्न प्रदेशस्तरीय मन्त्रिपरिषदबाट निर्णय गरेर केन्द्रमा पठाउनुपर्ने बताउँदै मुख्यमन्त्री सिंहले केन्द्र सरकारले स्वीकृत गरी भारतीय दूतावासमा पठाउनुपर्ने र दूतावासले स्वीकृति प्रदान गरेपछि मात्र बोलपत्र आह्वान गर्न सकिने जानकारी दिनुभयो । केही प्राविधिक त्रुटिका कारण अहिलेसम्म बोलपत्र आह्वान हुन नसकेको उहाँले उल्लेख गर्नुभयो ।

गुठी संस्थानले राष्ट्रिय खेलकुद परिषद्सँग सम्झौता गरिसकेको अवस्थामा प्रदेश सरकारसँग जग्गा नभएकाले टिप्पणी उठाउन नसकिएको मुख्यमन्त्री सिंहले बताउनुभयो । उहाँले रङ्गशालाका लागि रु दुई अर्ब ५० करोडदेखि रु तीन अर्बसम्म खर्च लाग्ने अनुमानसहित बोलपत्र आह्वान गरिने जानकारी दिनुभयो ।

मुख्यमन्त्री सिंहले खेलकुदका साथै अन्य पूर्वाधार विकासमा पनि प्रदेश सरकारले युवासँग सहकार्य र समन्वय गरी अवसरहरू सिर्जना गर्दै जाने प्रतिबद्धता जनाउनुभयो।

जय ट्रफी उद्घाटन कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साह, मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डल, नेपाल क्रिकेट सङ्घ (क्यान)का उपाध्यक्ष रोशन सिंह, सचिव पारस खड्का, धनुषा क्रिकेट सङ्घका अध्यक्ष गुड्डु पाण्डेय, विभिन्न राजनीतिक दलका प्रतिनितिधिलगायत खेल प्रेमीहरूको उपस्थिति थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल