alliance khabar

आइतबार, कार्तिक ०४, २०८१

हेटौँडा, कात्तिक ४ गते  ।

उत्तरी मकवानपुरको पर्यटकीय एवं ऐतिहासिक स्थल चित्लाङको चार गाउँका नेवार समुदायले आइतबार र सोमबार दसैँको टीका लगाउने भएका छन् । थाहा नगरपालिका–१० का गोपाली र गमाल समुदायले यस वर्षको विजयादशमीको टीका आइतबार र सोमबार लगाउने भएका हुन् ।

थाहा नगरपालिका–१० मा हरेक वर्ष कात्तिक १ गते लाग्दै आएको चम्पाकेश्वर महादेवको जात्राका कारण यसपालिको दसैँको टीकाको समय सरेको हो । थाहा–१० स्थित चार गाउँ टौखेल, न्हुँलगाउँ, कलाँटु र तल्लो विसिङ्खेलका गोपाली र गमाल समुदायले यो वर्ष मलमास परेका कारण दसैँको टीका पछि सरेको जनाएका छन् । थाहा नगरपालिका–१० स्थित बाह्र बर्से नाच मूल समारोह समितिका संयोजक दीपक गोपालीले कात्तिक १ गते लाग्दै आएको चम्पाकेश्वर महादेवको जात्रा र बाह्र बर्से नाचका कारण दसैँको टीका पछि धकेलिएको जानकारी दिनुभयो ।

“चम्पाकेश्वर महादेवको जात्रा कात्तिक १ गते प¥यो र बाह्र बर्से नाच पनि सोही दिनबाट सुरु भयो, संयोजक गोपालीले भन्नुभयो, आँग (छ्याङ) राखेपछि चोखोनितो गर्नुपर्ने भएकाले दसैँको टीका पछि सरेको हो ।” उहाँका अनुसार चार गाउँमध्ये टौखेलका गोपाली समुदायले सोमबार दसैँको टीका लगाउने तयारी गरेका छन् । न्हुँलगाउँका गोपाली तथा कलाँटु र तल्लो विसिङ्खेलका गमालले आइतबार दसैँको टीका लगाउने छन् ।

उहाँले टौखेलमा शुक्रबार रातिबाट सुरु भएको १२ बर्से नाच शनिबार बिहान मात्र सकिएको र नाचको सबै जसो जिम्मेवारी टौखेलका गोपाली समुदायमा रहेकाले दसैँ शनिबारबाट सुरु भएको र टीका भने सोमबार लगाउने गरी तयारी गरेको बताउनुभयो ।

नेवारी समुदायले कुनै पनि जात्रा पर्व मनाउनु आठ दिनअघि आँग राख्ने प्रचलन अनुसार गत असोज २४ गते फूलपातीको दिन चम्पाकेश्वर महादेव जात्राका लागि आँग रखिएपछि दसैँ पछि सारिएको हो । चार गाउँका थकालीको घरमा राखेको आँग (छ्याङ अर्थात् जाँड) र कुटेको चिउरा आठौँ दिनका दिन चम्पाकेश्वर महादेव जात्रामा प्रसादका रूपमा बाढ्ने गोपाली र गमाल समुदायमा प्रचलन छ ।

चार वटा टोलका थकालीको घरमा आइतबार वा बिहीबारको दिन पारेर बिहानै नित्य कर्म गरी शुद्ध भएर चार घ्याम्पो आँग राखिन्छ । आँग राखेपछि चम्पाकेश्वर महादेवको जात्रा सम्पन्न नभएसम्म छ्यासमिस गर्न नपाइने, बलि नदिने र शुद्ध शाकाहारी बस्नुपर्ने भएकाले मलमास परेको वर्षमा दसैँको टीकासमेत पछि सर्ने गरेको बाह्र बर्से नाचका गुरुसमेत रहेका संयोजक गोपालीको भनाइ छ ।

जात्राका लागि आँग राखिसकेपछि अन्य देवीदेवताको पूजा गर्न नहुने परम्पराका कारण पनि दसैँको दुर्गा पूजा पछि सारिएको हो । चम्पाकेश्वर महादेवको जात्रा सूर्यमासको आधारमा प्रत्येक वर्षको कात्तिक १ गते मनाइन्छ । दसैँ चन्द्रमास अनुसार आश्विन शुक्ल पक्षमा मनाइन्छ । चन्द्रमास अनुसार मलमास र क्षयमास परेको आसपासका वर्षमा यस्तो हुने गरेको हो ।

टौखेलका गोपाली समुदायले दसैँ शनिबार ३ गते अष्टमी, आइतबार ४ गते नवमी र सोमबार ५ गते विजयादशमी मानेर मनाउने भएका छन् । उता न्हुँलगाउँका गोपाली तथा कलाँटु र तल्लो विसिङ्खेलका गमालले दसैँ २ गते अष्टमी, ३ गते नवमी र ४ गते आइतबार विजयादशमी मनाउँदै छन् । चम्पाकेश्वर महादेव जात्रा र १२ बर्से नाच व्यवस्थापन गर्न गुठीको व्यवस्था गरिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल