काठमाडौँ, असोज
अन्तर्राष्ट्रिय ट्रेड युनियन महासंघ (ITUC) एसिया प्रशान्त क्षेत्रीय परिषद (ITUC-AP) को महत्वपूर्ण बैठक असोज २२ र २३ गते नेपालमा सम्पन्न भयो । सम्मेलनको उद्घाटन नेपाल सरकारका उपप्रधान तथा अर्थमन्त्री बिष्णु पौडेलले गर्नुभएको थियो। कार्यक्रममा ITUC-AP का सदस्य देशहरू र आवद्ध महासंघहरूका प्रतिनिधिहरूको व्यापक सहभागिता रहेको थियो।
नेपालमा नेपाल ट्रेड युनियन कांग्रेस, जिफण्ट, र अन्टुफ मात्र ITUC-AP मा आवद्ध रहेको हुँदा तीनवटै युनियनका प्रतिनिधिहरूले नेपालको तर्फबाट सहभागिता जनाएका थिए। नेपाल ट्रेड युनियन कांग्रेसकी महिला उपाध्यक्ष राधिका कुइकेल खनालले टिटुलर मेम्बरको रूपमा सहभागिता जनाउँदै विभिन्न मुद्दाहरूमा आफ्नो धारणा राख्नुभएको थियो।
सम्मेलनमा श्रम कटौती, श्रमिक संगठनमा परेको असर, लैंगिक असमानता, बैदेशिक रोजगार, अनौपचारिक क्षेत्रलाई संगठित गर्न कठिनाइ, र आउटसोर्सिङका कारण श्रमिकहरूको सुविधामा आएको कटौती जस्ता विषयमा व्यापक छलफल भयो। साथै, जलवायु परिवर्तनको प्रभावले नेपालमा निर्माण, यातायात, कृषि, होटल, पर्यटन लगायतका क्षेत्रमा रोजगारी गुम्न थालेको, र युवा जनशक्ति बैदेशिक रोजगारमा जान बाध्य भएकोले श्रम संगठनहरूमा चुनौतिहरू थपिँदै गएको पनि चर्चामा आयो।
यस सम्मेलनमा ITUC-AP का अध्यक्ष फेलिक्स यन्थोनी, महासचिव यसोधा सोया र दक्षिण एशियाली ट्रेड युनियन परिषद्का महासचिव लक्ष्मण बहादुर बस्नेतको उपस्थिति रहेको थियो। नेपालबाट तीनवटा प्रमुख युनियनका अध्यक्ष योगेन्द्र कुमार कुंवर, बिनोद श्रेष्ठ, र जगत सिंखडा समेत सहभागी थिए। सम्मेलनको अध्यक्षता न्याकका अध्यक्ष जगत सिंखडाले गर्नुभएको थियो।
राधिका कुइकेल खनालले विश्वमा जलवायु परिवर्तनको प्रत्यक्ष प्रभाव नेपालमा परिरहेको भन्दै श्रम बजारमा देखा परेको समस्याको उल्लेख गर्नुभयो। निर्माण, कृषि, होटल, पर्यटन लगायतका क्षेत्रमा रोजगारी गुम्दै गएका कारण श्रमिकहरूको जीवनयापनमा थप चुनौती उत्पन्न भएको भन्दै, अन्तर्राष्ट्रिय ट्रेड युनियनहरूले ठोस एजेन्डा सहित प्रभावकारी ढंगले काम गर्नुपर्नेमा जोड दिनुभयो।