alliance khabar

शनिबार, साउन २६, २०८१

काठमाडौँ, साउन २६ गते ।

बङ्गलादेशमा जारी आन्दोलनले नेपालसँग हुने आयातनिर्यात व्यापारमा सामान्य प्रभाव परेको छ । आन्दोलन सुरु भएदेखि नेपालसँग मात्र होइन भारत र भुटानसँग हुने व्यापार प्रभावित भएको छ । बङ्गलादेशको नाका बङ्गलाबन्ध खुल्ने र बन्द हुने क्रम जारी हुँदा व्यापारमा प्रभाव भएको हो ।

बङ्गलादेशसँग नेपालबाट कम मात्र सामान निर्यात भए पनि ठुलो परिमाणमा आयात हुने गरेको छ । बङ्गलादेशमा लामो समयदेखि भएको आन्दोलनका कारणले आयातनिर्यातमा प्रभाव परेको छ ।

नेपाल दाल, चामल, तेल उद्योग सङ्घका सदस्य वृजेश अग्रवालले नेपालबाट बङ्गलादेश गएका सामान केही दिनअघि नाकामै रोकिएको जानकारी दिनुभयो ।

आन्दोलनका कारणले आयातनिर्यात नै प्रभावित भएको छ, उहाँले भन्नुभयो, “यसको असर दीर्घकालीन रूपमा नभए पनि एक महिनासम्म पर्ने देखिन्छ ।” नेपालबाट थोरै सामान निर्यात भए पनि बङ्गलादेशबाट धेरै सामान आउने गरेको हुँदा त्यसको प्रभाव व्यवसायीलाई पर्ने उहाँले बताउनुभयो । अहिले नाका खुला भए पनि प्रभाव भने कायम रहेको उहाँको भनाइ छ ।

नजिकिँदै गरेको तिज र दसैँलाई लक्षित व्यापारीले बङ्गलादेशबाट सामान ल्याउने तयारी गरेकोमा आन्दोलनका कारण नेपाल सामान आइपुग्न ढिलाई हुने उहाँको भनाइ छ । व्यापारविज्ञ रविशङ्कर सैजुुले बङ्गलादेशको राजनीति अवस्था स्थिर नहुने बेलासम्म नेपालको व्यापारमा प्रत्यक्ष प्रभाव पर्ने बताउनुभयो ।

बङ्गलादेशसँग नेपालको व्यापार सानो भएकाले त्यसको प्रभाव ठुलो नहुने उहाँको भनाइ छ । नेपालको व्यापार भारतसँग धेरै छ, बङ्गलादेशसँगै न्यून भएकाले आन्दोलनले दीर्घकालीन रूपमा प्रभाव नपर्ने उहाँको भनाइ छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता चण्डीप्रसाद घिमिरेले बङ्गलादेशमा नयाँ सरकार बनिसकेकाले आयात निर्यात नियमित भइसकेकाले त्यसको प्रभाव नपर्ने बताउनुभयो । पछिल्लो समयको आन्दोलनले दुई/तीन दिन नाकामा सामान्य अवरोध भए पनि आन्दोलन सकिएर नयाँ सरकार बनिसकेकाले नेपालको व्यापारमा प्रभाव नपर्ने उहाँको भनाइ छ ।

मेची भन्सार कार्यालयका सूचना अधिकारी गणपति कँडेलले बङ्गलादेशको आन्दोलनका कारण असार अन्तिम सातादेखि आयातनिर्यातमा सामान्य अवरोध भए पनि हाल सामान्य हुँदै गइरहेको जानकारी दिनुभयो ।

मेची भन्सार कार्यालयबाट बङ्गलादेशका लागि न्यून परिमाणमा आयातनिर्यात हुन्छ । दुईचार दिन नाका रोकिए पनि राजस्व सङ्कलनमा कमी नआएको उहाँले बताउनु भयो ।

भन्सार विभागको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८०/८१ नेपालबाट ४६ करोड ३१ लाख बराबरको सामग्री निर्यात भएकोमा बङ्गलादेशबाट तीन अर्ब ८३ करोड ६८ लाख बराबरको आयात भएको छ ।

बङ्गलादेशबाट गत वर्ष झन्डै चार अर्ब रुपियाँको आयात भए पनि नेपालबाट न्यून निर्यात हुँदा व्यापार घाटा भने उच्च रहेको छ । नेपालको बङ्गलादेशसँग गत आवमा तीन अर्ब ६७ करोड रुपियाँ व्यापार घाटामा रहेको छ । आव २०७९/८० मा नेपालबाट ५७ करोड चार लाख रुपियाँ बराबरको निर्यात हुँदा बङ्गलादेशबाट छ अर्ब ४६ करोडको सामान आयात भएको थियो ।

यस्तै आव २०७८/७९ मा नेपालबाट ७२ करोड रुपियाँको सामान निर्यात हुँदा ११ अर्ब २० करोड रुपियाँको सामान आयात भएको थियो । यस्तै आर्थिक २०७७/७८ मा ६७ करोड चार लाख रुपियाँको निर्यात हुँदा १० अर्ब ७६ करोड चार लाख रुपियाँको आयात भएको विभागको तथ्याङ्क छ ।

बङ्गलादेशबाट आलु, स्ट्रेप्सिल, टोस्डेट ब्रेड, क्रिप्स, कच्चा जुट, सर्जिकल उपचार सामग्री, केही औषधी, जुस, ब्याट्री, खाद्यान्न, रेडिमेट गार्मेन्ट, औषधिलगायत २० प्रकारका सामग्री आयात हुने गरेको छ । नेपालबाट भने जडीबुटी, च्यावनप्रास, मुसुरोको दाल, अलैँची, कफीलगायतका सामग्री निर्यात हुने गरेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल