काठमाडौँ, श्रावण ४ –
क्लास नेपालद्वारा सञ्चालित “नीति निर्माणमा कामदारहरूको सहभागिता पुनरावलोकन एक सारभूत संवाद ” एक दिवसीय अन्तरक्रिया कार्यक्रममा संयुक्त ट्रेड युनियन समन्वय केन्द्र(JTUCC ) का अध्यक्ष योगेन्द्रकुमार कुँवरले राज्यको नीति निर्माण तहमा श्रमिक वर्गको प्रतिनिधित्वमा अभाव रहेको बताउनुभयो।
रोजगारदाताले श्रमिकलाई यो वा त्यो बहानामा अकारण सेवाबाट हटाउँछ भने, त्यस्तो अवस्थामा ट्रेड युनियनले श्रमिकको अधिकार स्थापनार्थ कानुनको दायराभित्र रहेर , सङ्घर्षका कार्यक्रमहरू मार्फत श्रमिकका अधिकार स्थापना गराई छाड्नुपर्ने उहाँले बताउनुभयो।
श्रमिकको रोजगारजन्य स्वास्थ्य सुरक्षा, वातावरणीय सुरक्षा, प्राकृतिको सुरक्षा र विश्वको जीवन सुरक्षा आजको आवश्यकता रहेको उहाँले बताउनुभयो।
नेपालमा करिब १ करोड १० लाख श्रमजीवीहरू श्रम क्षेत्रमा रहिरहेको अवस्थामा, त्यस क्षेत्रका अप्ठ्याराहरूलाई दीर्घकालीन रूपमा समस्या समाधान गर्न सरकारले श्रम आयोगको स्थापना गर्नुपर्ने, लगायत श्रम क्षेत्रका विविध विषयवस्तुहरुमाथि प्रष्ट पार्नुभयो।
कार्यक्रम FES नेपालको सहयोगमा क्लास नेपालले बानेश्वरको अल्फा हाउसमा आयोजना गरेको थियो।जसमा, क्लास नेपालका अध्यक्ष लेखप्रसाद बुर्लाकोटीले अध्यक्षता गर्नुभएको थियो ।
कार्यक्रममा माननीय जीवन परियार (नेपाली कांग्रेस), माननीय सुनिता बराल (नेकपा एमाले), माननीय रमा कोइराला पौडेल (नेपाली कांग्रेस), माननीय राजन दाहाल (माओवादी केन्द्र), राष्ट्रिय योजना आयोगका सदस्य यमलाल भुसाल, जेटियुसीसीका अध्यक्ष योगेन्द्रकुमार कुँवर, श्रम तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव सुशील आचार्य लगायत विभिन्न ट्रेड युनियन र सङ्घ संस्थाबाट आमन्त्रित उच्च पदस्थ नेतृत्वहरूको सहभागिता थियो।