alliance khabar

मंगलबार, आषाढ १८, २०८१

काठमाडौँ, असार १८ गते ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको ६० केजी सुन तस्करीबारे दोस्रो चरणको अनुसन्धान पूरा गरेको छ ।

गत साउन २ गते विमानस्थलबाट राजस्व अनुसन्धान विभागले ब्रेक सुभित्र लुकाएर ल्याएको अवस्थामा ६० केजी सुन बरामद गरेको थियो । सिआइबीले पहिलो चरणको अनुसन्धान गत भदौ ५ गते पूरा गरेको थियो । सोही प्रकरणमा गत वैशाख २१ गते भारतीय नागरिक सिद्धार्थ भन्ने सिद्धनाथ अशोक गायकवाडलाई पक्राउ गरी सिआइबीले दोस्रो चरणको अनुसन्धान सुरु गरेको थियो ।

पछिल्लो अनुसन्धानबारे जनाकारी दिन सोमबार आयोजित पत्रकार सम्मेलनमा सिआइबीका प्रमुख श्यामलाल ज्ञवालीले दोस्रो चरणको अनुसन्धानमा भुजेल इलेक्ट्रोनिक्स सप्लायर्स प्रालिलगायत पाँच वटा देखावटी (डमी) कम्पनीमार्फत स्कुटरको ब्रेक सु, मोबाइलको ब्याट्री, पानी तान्ने पम्पलगायतका विद्युतीय सामग्रीभित्र लुकाएर एक हजार ३०३ केजी ९६५ ग्राम सुन तस्करी भएको अनुसन्धानबाट खुलेको जानकारी दिनुभयो ।

यसै गरी ह्वाडा इलेक्ट्रोनिक्स सप्लायर्स कम्पनीबाट ६३२ केजी, छुङ्गाक इलेक्ट्रोनिक्स सप्लायर्सबाट ७१६ केजी ८३ ग्राम, दोलखा इलेक्ट्रोनिक्स सप्लायर्सबाट १७० केजी आठ ग्राम र रेडे ट्रेड प्रालिबाट साढे सात केजी तस्करीको सुन नेपाल भित्र्याइएको खुलेको छ । यी पाँच वटा कम्पनी देखावटी कम्पनीबाट मात्र ३० अर्ब ८२ करोड २२ लाख ९१ हजार २७२ रुपियाँ बराबरको सुन तस्करी रहेको खुलेको छ ।

सिआइबीले दोस्रो चरणको अनुसन्धानमा भारतीय नागरिकहरू वैजनाथ महादत्त गोयल, प्रशान्त गणेश वजवलकर, सिद्धनाथ अशोक गायकवाड, धीरज दिनेशवैट, पर्सा वीरगन्ज–११ का सुरेन्द्रमान श्रेष्ठ, भक्तपुर सूर्यविनायक–५ का राजु खत्री, मध्यपुर–१५ का सुशील जाकिबन्जा, काभ्रेपलाञ्चोक तेमाल–४ का कान्छा लामा, नमोबुद्ध–१० का भीमप्रसाद तिमल्सिना, भुल्मु–१ का रुपक भण्डारी, काठमाडौँ–७ का प्रज्ज्वल आचार्य, काठमाडौँ सुविधानगरका सुरज शमशेर जबरा, बाफलका कश्यप मानन्धर, गुल्मी सत्यवती–१ बा लालबहादुर कुँवर बारा जितपुर–१९ का अरुणकुमार यादव, तिब्बती नागरिक गङ्गा टासी तथा सेराप भन्ने सोनम गुरुङ पक्राउ गरेको थियो ।

तस्करीको सुन अवैध रूपमा खरिद गर्न तथा बिक्रीबापतको भुक्तानी लिन पे वेल र सजिलो पे नामक विद्युतीय भुक्तानी कम्पनी प्रयोग भएको खुलेपछि सिआइबीले पे वेलका अध्यक्ष भीमप्रसाद तिमल्सिना, सहायक प्रमुख कार्यकारी अधिकृत प्रज्ज्वल आचार्य र लेखा प्रमुख सुरज शमशेर जबरा, एजेन्टहरू लालबहादुर कुँवर र अरुणकुमार यादवसहित २० जना र फरार २६ जना गरी ४६ जनाविरुद्ध दुई खर्ब ६६ अर्ब ६७ करोड नौ लाख नौ हजार ३०८ रुपियाँको बिगो दाबीसहितको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको छ ।

सिआइबीले आइतबार जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको ५६२ पृष्ठको अनुसन्धान प्रतिवेदनमा तीन हजार १९४ केजी ६६८ ग्राम सुन तस्करी भएको निष्कर्ष सिआइबीले निकालेको छ ।

मुख्य योजनाकार दाओजिन वाङ

सिआइबीले हालसम्म गरेको अनुसन्धानमा हङकङ तथा दुबईबाट नेपालमा हुने गरेको सुन तस्करीका मुख्य योजनाकार र लगानीकर्ता चिनियाँ नागरिक दाओजिन वाङ रहेको खुलेको छ । हाल फरार रहेका वाङको समूहले मात्र पछिल्लो एक वर्षमा झन्डै तीन हजार दुई सय केजी सुन तस्करी गरेको सिआइबीको निष्कर्ष छ । सो तस्करीको सुनको बजार मूल्य ३० अर्ब ८२ करोड २२ लाख ९१ हजार २७२ रुपियाँ रहेकोसमेत प्रतिवेदनमा उल्लेख छ ।

वाङको समूहले तस्करीमार्फत नेपाल भित्रिएको सुन गाली विभिन्न आकारमा तयार पार्नका लागि काठमाडौँको लाजिम्पाट र टोखामा दुई वटा कारखाना खोलेका थिए । तस्करीबाट भित्रिएको सुन नेपाली बजार र भारतीय बजारमा पु¥याउने गरेको खुलेको छ ।

तस्करीको सुन खरिद गर्न र बिक्री गर्न पे वेल, सजिलो पेमार्फत एक खर्ब आठ अर्बको कारोबार भएको र पछिल्लो एक वर्षमा मात्र ८६ अर्ब १७ करोड ११ लाख ५३ हजार ३५३ रुपियाँ यी दुई भुक्तानी प्रणालीमा जम्मा भएको रकम विद्युतीय भुक्तानी प्रणालीमा रूपान्तरण गरी युएसडिटीमार्फत हङकङ र दुबईबाट सुन खरिदमा प्रयोग गरेको खुलेको छ । सजिलो पेका प्रमुख कार्यकारी अधिकृत काश्यप मानन्धर, सदस्यहरू फुन्सुक डाग्पा अथुप्छाङ खम्पा र सुशीला जाकिबन्जाले इ–वालेटमा रहेको रकम युएसडिटी र क्रिप्टोकरेन्सीमा रूपान्तरण गरी तस्करीको सुन खरिद गर्न प्रयोग गरेको पाइएको छ ।

६० केजी सुन तस्करीको पहिलो चरणको अनुसन्धानमा सिआइबीले पक्राउ गरेका २५ जनामध्ये २४ जना पुर्पक्षका लागि कारागार चलान भइसकेका छन् ।

पछिल्लो अनुसन्धानमा पक्राउ परेका बैजनाथ महादत्त गोयलले तस्करीको सुनलाई गलाउने र विभिन्न आकारमा तयार गर्ने, सुरेन्द्रमान श्रेष्ठले नेपाल–भारत सीमा कटाउने, प्रशान्त गणेश वजवलकरले विभिन्न सुन पसलमा लगेर बेच्ने अशोक गायववाड र धीरज दिनेशवैटेले भुक्तानी लेनदेन गर्ने, कान्छा लामाले सुनको भरियाको काम गर्ने भीमप्रसाद तिमल्सिना, प्रज्ज्वल आचार्य र सुरज शमशेर जबरा सुशील जाकिबन्जा र फुन्सुक डाग्पा अथुप्छाङ खम्पा र कश्यप मानन्धरले पे वेल र सजिलो पेमा रेमिट्यान्सका रूपमा जम्मा भएको रकम नेपाल नल्याई क्रिप्टो, युएसडिटी रूपान्तरण गरी नेपालबाट हुन्डीमार्फत ग्राहकलाई भुक्तानी दिने गरेको खुलेको छ ।

पहिलो चरणको अनुसन्धानमा सिआइबीले गत भदौ ५ गते २५ जनालाई पक्राउ गरी ५ गते नै पहिलो अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल