Alliancekhabar

बुधबार, जेठ १६, २०८१

नेपालगन्ज, जेठ १६ गते : अत्यधिक गर्मी र तातो हावा ‘लु’ का कारण रक्तदान गर्ने घट्दै गएपछि नेपालगन्जस्थित प्रादेशिक रक्तसञ्चार केन्द्रमा रगतको अभाव भएको छ ।

पश्चिम नेपालको तीन वटा प्रदेशको स्वास्थ्य ‘हब’ बन्दै गएको नेपालगन्जस्थित प्रादेशिक रक्तसञ्चार केन्द्रमा गर्मीका कारण रगत दिन आउने घटेपछि रगतको मौज्दात अत्यन्त न्यून हुँदा रगत अभाव भएको रक्तसञ्चार केन्द्रका प्रमुख उपेन्द्र रेग्मीले बताउनुभयो । उहाँले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अति नै गम्भीर बिरामीलगायत दुर्घटनामा परेका बिरामीको पनि प्रमुख उपचार गर्ने थलो बनेको नेपालगन्ज र कोहलपुरमा रगत अभावले बिरामीलाई समस्या हुन थालेको बताउनुभयो ।

चर्को गर्मीका कारण संस्थागत रक्तदानमा कमी आउँदा रगत अभाव भएको जनाउँदै प्रमुख रेग्मीले संस्थागत रक्तदानका लागि विभिन्न सङ्घ संस्थासँग आग्रह गरिरहेको बताउनुभयो । “हामीले रक्तदाता संस्था र रक्तदाता ग्रुपसँग नियमित सम्पर्क गरिरहेका छौँ,” उहाँले भन्नुभयो, “संस्थाले नियमित रक्तदान गराउन ध्यान दिएनन् भने रगतको ठुलो समस्या हुन सक्छ ।”

रगतको अभाव भएपछि गम्भीर अवस्थाका बिरामीलाई तत्काल चाहिने रगतका लागि आफन्तले निकै दौडधुप गर्नु परेको अस्पतालले जनाएका छन् । आवश्यक परेको रगत नपाएपछि अधिकांश बिरामीका आफन्तले सामाजिक सञ्जालमा पोस्ट गरेर सर्वसाधारणसँग रक्तदानको आग्रह गरिरहेको दैनिक जसो देख्न सकिन्छ ।

हालका लागि जेनतेन काम चलिरहे पनि आपत्कालीन कुनै घटना हुने हो भने त्यसलाई थेग्न सक्ने रगत अहिले रक्तसञ्चार केन्द्रको स्टकमा छैन । नेपालगन्ज, खजुरा र कोहलपुर गरी दैनिक कम्तीमा ८० पिन्ट रगत माग हुने गरेको रक्तसञ्चार केन्द्रले जनाएको छ । सो माग पूरा गर्न दैनिक जसो सोही मात्रामा रगत सङ्कलन हुने गरी रक्तदानको पनि आवश्यकता रहेको केन्द्रका प्रमुख रेग्मीले बताउनुभयो ।

नेपालगन्जस्थित प्रादेशिक रक्तसञ्चार केन्द्रले नेपालगन्ज, कोहलपुर र खजुराका अस्पतालमा रगत उपलब्ध गराउँदै आएको छ । रक्तसञ्चार केन्द्रका अनुसार केन्द्रले आर्थिक वर्ष २०७८/७९ मा १६ हजार ७८७ पिन्ट रगत वितरण गरेको थियो भने आव २०७९/८० मा १८ हजार ७५७ पिन्ट रगत वितरण गरेको थियो ।

सोही प्रकारले चालु आवको वैशाखसम्म १५ हजार १९ पिन्ट रगत वितरण गरिसकेको छ । यो तथ्याङ्कले पनि हरेक वर्ष रगतको माग बढ्दै गएको पुष्टि गरेकाले सरकारले भेरी अस्पतालमा छुट्टै ब्लड बैङ्कको स्थापना गर्नुपर्ने नेपाल रेडक्रस सोसाइटी बाँकेका अध्यक्ष गोवर्धनसिंह सम्झनाले बताउनुभयो । उहाँले रगत अभाव पूरा गर्न दिनहुँ जसो रक्तसञ्चार केन्द्रले विभिन्न सङ्घ संस्था र व्यक्तिसँग रक्तदानको आग्रह गर्दै आएको जनाउँदै भेरी अस्पतालमा पनि ब्लड बैङ्क सञ्चालन गरिए माग पूरा गर्न सहज हुने बताउनुभयो ।

रगत अभाव कम गर्न सहिद कृष्णसेन ‘इच्छुक’ को स्मृति दिवसमा प्रेस सेन्टर नेपाल बाँके शाखाले रक्तदान कार्यक्रम राखेको छ भने अन्य सङ्घ संस्थाले पनि कार्यक्रम गर्न थालेको जनाएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल