काठमाडौ २५ वैशाख :
त्रिभुवन विश्वविद्यालय भूगोल केन्द्रीय विभागले हालै माटोको नियमित परीक्षण र प्रयोगशाला गुणस्तर व्यवस्थापनसम्बन्धी नौ दिने प्रशिक्षण एवम क्षमता विकास तालिम सम्पन्न गरेको छ ।
विभागमामा अध्ययनरत स्नातकोत्तर र विद्यावारिधिका विद्यार्थीहरू, अनुसन्धानकर्ताहरू र विभागमा कार्यरत शिक्षकहरूसमेत २० जना सहभागी थिए । तालिममा सहभागीहरूलाई माटोको नियमित परीक्षणअन्तर्गत माटोको पिएचमान, टेक्स्चर, पोटासियम फोसफरस, नाइट्रोजन, अर्गानिक म्याटर लगायतका तत्त्वहरूको सैद्धान्तिक ज्ञान र माटो परीक्षणसम्बन्धी प्रयोगात्मक परीक्षण सम्बन्धित सीप सिकाइएको थियो ।
तालिम समापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि विश्वविद्यालय अनुदान आयोगका पूर्वअध्यक्ष तथा विभागका पूर्वविभागीय प्रमुख प्रा। डा। भीमप्रसाद सुवेदीले भने “माटोको महत्त्व तब हुन्छ, जब मान्छेको मनले माटो छुन्छ ।”
उनले भूगोल केन्द्रीय विभागले माटो प्रयोगशाला परीक्षण सुरू गरेकोमा खुसी व्यक्त गर्दै विभागको ल्याबबाट विश्वविद्यालयका अन्य विभागहरू र अनुसन्धानकर्ताहरूले समेत फाइदा लिनेसक्ने गरी ल्याबलाई बहुआयामिक रूपमा विकास गर्नुपर्नेमा जोड दिए । तालिमबाट सिकेको सीपलाई अधिकतम सदुपयोग गरी आफ्नो मेहनेतलाई बढावा दिन र उपलब्ध स्रोत र साधनको सकरात्मक उपयोग गरी क्षमता विकास गर्न सबैलाई उनले अनुरोध गरे ।
कार्यक्रममा विश्वविद्यालय क्याम्पसका प्रिन्सिपल प्राडा ध्यानेन्द्रबहादुर राईले ल्याब स्थापना हुँदाको पललाई स्मरण गर्दै, स्थापनाकालका विभागीय प्रमुख प्राडा पदमचन्द्र पौडेलको योगदानको चर्चा गर्दै सहभागीहरूलाई सिकेको सीपको भरपुर सदुपयोग गर्दै विभागमा रहेको अत्याधुनिक ल्याबको नियमित उपयोगमा जोड दिए ।
त्यस्तै अर्का वक्ता अध्यक्ष तथा भूगोल केन्द्रीय विभागका विभागीय प्रमुख प्राडा उमेशकुमार मण्डलले चीनले दिएको ल्याब १० वर्षपछि नेपाली वैज्ञानिकबाट पुनः सञ्चालनमा ल्याउन सफल भएकोमा माटोविज्ञ सन्तोष श्रेष्ठ र बायोमेडिकल इन्जिनियर प्रन्जल पाण्डेलाई विशेष धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि सहकार्यगर्ने कुरामा जोड दिए। उनले भने, “विज्ञान तथा प्रविधि संकाय अन्तर्गतका विभागहरूमा प्रयोगशाला सञ्चालका लागि त्रिभुवन विश्वविद्यालयले निरन्तर सहयोग गरिरहे पनि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण प्रयोगशाला र स्पेस टेक्नोलोजीसम्बन्धी अत्याधुनिक सुविधा सम्पन्न प्रयोगशाला भए तापनि विश्वविद्यालयबाट प्रयोगशाला सञ्चालनमा अभाव रहेकोले आगामी दिनमा विज्ञान र प्रविधि संकायमा सरह सहयोगको अपेक्षा गरेको छु ।”
माटोविज्ञ सन्तोष श्रेष्ठ र बायोमेडिकल इन्जिनियर प्रन्जल पाण्डेले मन्त्व्य राख्दै विभागमा रहेको अत्याधुनिक सुविधा सम्पन्न प्रयोगशाला सञ्चालनमा आफूहरूको निरन्तर सहयोग र सहकार्य रहने धारणा व्यक्त गरे ।
तालीममा सहभागीहरूका तर्फबाट आफ्नो मन्तव्य राख्दै प्रशिक्षार्थी भूषण सुवेदीले भने हजारौँ माइलको यात्रा एक पाइलाबाट सुरू हुन्छ भनेझैँ विभागले सुरूवात गरेको माटो परीक्षण तालीम आगामी दिनमा थप परिस्कृत गर्दै माटोको प्रयोगशाला परीक्षण गर्ने सीप विकास गर्ने केन्द्रको रूपमा स्थापित गर्नुपर्ने कुरामा जोड दिए । साथै, पहिलो पटक माटोको नियमित प्रयोगशाला परीक्षणसम्बन्धी तालिमद्वारा दीक्षित हुन पाउँदा खुसी व्यक्त गर्दै आयोजकलाई धन्यवाद दिए ।
कार्यक्रम सञ्चालन विभागका उपप्राध्यापक शेरबहादुर गुरुङले गरेका थिए भने स्वागत मन्तब्य विभागका उपप्राध्यापक डा छविलाल चिदीले गरेका थिए ।