काठमाडौँ – १६ साउन – पाँच सय किलोवाट क्षमताको फर्पिङ जलविद्युत केन्द्र नेपालको पहिलो एवम एशिया महादेशको दोश्रो जलविद्युत केन्द्र हो । यसलाई ऊर्जा संग्रहालयको रुपमा विकास गरिने नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिएका छन् ।
दक्षिणकाली नगरपालिकास्थित केन्द्रको जलाशय र विद्युत गृह क्षेत्रमा रहेको जग्गामा हरियाली पार्क, रेस्टुरेन्ट, पसल, जिप लाइन, पिकनिक स्पट, पुस्तकालय, बाल उद्यानलगायतका संरचनाहरु निर्माण गरिने छ । प्राधिकरणले जलविद्युत केन्द्रका संरचनाहरुलाई जीर्णोद्धार गरी संग्रहालयको रुपमा विकास गर्ने भएको हो ।
परामर्शदाताले तयार गरेको गुरुयोजना कार्यान्वयनका लागि करिब एक अर्ब रुपैयाँ लाग्ने अनुमान प्राधिकरणको छ । केन्द्रको स्वामित्वमा तीन सय २४ रोपनी जग्गा छ । पर्यटकीय संरचनाहरु निर्माणका लागि जलाशय क्षेत्रको ४६ रोपनी र विद्युत गृह क्षेत्रको करिब १ सय ४६ रोपनी जग्गा प्रयोग गरिने छ ।
विद्युत प्राधिकरणको ३८औं वार्षिकोत्सवको अवसरमा फर्पिङ जलविद्युत केन्द्रको परिसरमा सोमबार आयोजित वृक्षरोपण कार्यक्रममा सहभागी हुन पुग्नुभएका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्ति बहादुर बस्नेतलाई गुरुयोजनाका विषयमा जानकारी दिइएको थियो । मन्त्री वस्नेत, ऊर्जा, जलस्रोत तथा सिँचाइ सचिव दिनेश कुमार घिमिरे, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायतले केन्द्रको विद्युत गृहलगायतका संरचाहरुको अवस्थाका बारेमा अवलोकन गरेका थिए ।
उक्त अवसरमा मन्त्री बस्नेतले ऐतिहासिक महत्व बोकेको विद्युत् केन्द्रलाई संरक्षण गरी जलविद्युत् क्षेत्रका अध्येता, अनुसन्धानकर्ता तथा चासो राख्ने सबैलाई सन्दर्भस्थान र इतिहासलाई बुझ्ने, बुझाउने ठाउँका रुपमा विकास गरिनु पर्ने बताए । उनले केन्द्रबाट स्थानीय बासिन्दाको सामाजिक आर्थिक बृद्धि हुने गरी योजना तथा कार्यक्रमहरु कार्यान्वयनमा ल्याइनु पर्नेमा जोड दिए ।
प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले परामर्शदाताको प्रतिवेदन आएपछि केन्द्रलाई ऊर्जा संग्रहालय, अनुसन्धान केन्द्र र पर्यटकीय स्थलको रुपमा विकासका कार्यहरु अगाडि बढाइने उल्लेख गरे ।
फर्पिङ जलविद्युत केन्द्र १९६८ जेठ ९ गतेबाट औपचारिक रुपमा सञ्चालनमा आएको थियो । तत्कालीन राजा पृथ्वीवीरविक्रम शाहबाट टुँडिखेलमा बत्ती बालेर उद्घाटन भएको उक्त जलविद्युत् केन्द्रबाट राजपरिवार, राणापरिवारलगायतलाई विद्युत् वितरण गरिएको थियो । राणा प्रधानमन्त्री चन्द्रशमशेरको शासनकालमा निर्माण भएकाले केन्द्रको नाम चन्द्रज्योति राखिएको थियो । करिब चार वर्षलगाएर निर्माण गरिएको आयोजनाको लागत ७ लाख १३ हजार रुपैयाँ थियो ।
केन्द्र २०३८ सालसम्म निरन्तर सञ्चालनमा थियो । तर त्यसपछि ललितपुरका विभिन्न क्षेत्रमा खानेपानी आपूर्तिका लागि जलाशयको पानी, टर्बाइनमा प्रवेश नगराई प्रयोग गर्न थालेपछि विद्युतगृहको सञ्चालन बन्द भएको थियो । केन्द्रको मर्मतसंभार गरी पुन: २०६३ पुसबाट आवश्यक पर्दा सञ्चालन गर्न सकिने गरी चालू हालतमा राखिएको छ ।